खेलाडीलाई एक पक्षीय होइन, बहुपक्षीय दृष्टिकोणले बलियो बनाउनु पर्छ

रमेश खनाल (खेलकुद मनोविज्ञ)

धेरै अगाडि मलाई एक जना प्रशिक्षकले सोधेको कुरा आज स्मरण भइरहेको छ । उनको प्रश्न थियो, ‘प्रतियोगिताको वामअप क्षेत्रमा जब कुनै खेलाडी ट्वाल्ल परेर अरु खेलाडीलाई मात्र हेरिरहनुको तात्पर्य के हुन सक्छ?’ वास्तवमा प्रश्न सरल ढंगबाट सोधिएको भएपनि त्यसभित्र अन्तरनिहित उत्तर जटिल नै थियो ।

यदि प्रतियोगिताको दौरानमा वामअपको समयमा जब कुनै खेलाडीले आफुले गर्नुपर्ने प्रशिक्षण गर्दैन भने त्यस्ता खेलाडी भित्रि मनबाट नर्भस भइरहेको ठान्नु पर्दछ । त्यहाँ उसले आफुभन्दा तगडा, आफु भन्दा बलिया, आफुभन्दा सुरा खेलाडीलाई देख्ने वित्तिकै उसले आफुलाई हिनतावोध गर्न सक्दछ । उसले त्यो कुरा देखाउँदैन। मुखले भन्दैन तर यथार्थमा उ भित्र भित्रै पराजित भइसकेको हुन्छ । यस्तो अवस्थामा पक्कै पनि उसको पर्फमेन्स राम्रो हुदैन ।

तर, हामीले समस्यालाई सिर्फ समस्याकै रुपमा मात्र छोड्ने होइन । हामीले खेलाडीको त्यस्तो अवस्थालाई निराकरण कसरी गर्ने त्यसमाथि गम्भिर भएर मन्थन गर्नु पर्दछ । खेलाडीलाई त्यस्तो हिनताबोधात्मक अवस्थाबाट मुक्ति दिलाउन उसलाई उ भित्र प्रेरित गर्नुु पर्दछ । उसलाई सम्झाउँदै भन्नुपर्छ, ‘यो सत्य हो कि उनीहरु तिमीभन्दा बलियो, शुरा छन् । तर, तिमी पनि कम छैनौं । तिमीले आफुलाई पनि कम नठान । तिमी पनि आफ्नो मुलुकबाट च्याम्पियन बनेर यस प्रतियोगितामा भाग लिन आएका छौ । सक्छौ भने पदक नै जित्ने । तर तिम्रो स्तरलाई तुलना गरि हेर्दा तिमीले आफ्नै रेकर्ड तोडे पनि उपलब्धि नै ठानिन्छ । यसर्थमा तिमी आफु रेकर्ड कायम गर्न पट्टि लाग । यो तिम्रो लागि सुनौंलो अवसर हो । तिमीले आफुभित्र मात्र ध्यान दिनु उचित हुन्छ । तिमी पनि केहि वर्षपछि त्यस्तै बलियो हुनसक्छौ । तसर्थ आफुलाई सुधार गर्न पट्टी लाग।’

वास्तवमा खेलाडीलाई प्रसस्त म्याच एक्सपोजर दिन सकियो भने खेलाडीहरुले यथार्थबोध गर्न सक्ने थिए । यथार्थबोधक खेलाडीहरु छिटो भन्दा छिटो वास्तविकतातर्फ फर्केर कार्य गर्दछन् । त्यसैगरि खेलाडीहरुलाई प्रतियोगिताका प्रत्येक अवयवहरु माथि ज्ञान गराउन सक्नु पर्दछ । स्वदेश तथा विदेश दुवैमा । आत्म निर्भिक, आत्म मूल्याङ्कन, स्वयम्मा केन्द्रीत हुन सक्नु पर्दछ, खेलाडीहरु । सानो सानो घटनालाई खेलाडीले स्वयम्ले निराकरण गर्न सक्नु पर्दछ । यसै सन्दर्भमा भनिएको छ कि खेलाडीहरु प्रभावशाली हुनु पर्दछ । प्रतिभाशाली खेलाडीहरुमा सिर्जनशिलता पनि मनग्गे हुन्छ । सिर्जनशिलता भएकै कारणबाट समस्याहरु निराकरण गर्न मद्दत पुग्दछ ।

तसर्थ खेलाडीलाई एक पक्षीय दृष्टिकोणबाट मात्र होइन, बहुपक्षीय दृष्टिकोणबाट सक्षम बनाउनु पर्दछ । ठूला ठूला राष्ट्रका खेलाडीहरु बहु पक्षीय क्षमता बोकेर खेल जीवन हाँकि रहेका हुन्छन् । तसर्थ, हामीले पनि खेलाडीहरुका हरेक समस्या निराकरण गर्न सक्ने बनाउन प्रयास गर्नु आवश्यक छ । यदि यस्तो भएमा हाम्रा खेलाडीहरु अरुका खेलाडीलाई हेरेर टोलाउनु पर्ने स्थिति आउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :