यो साता विभिन्न मुद्दाले तातेको नेपाली खेलकुद नेपाल एथलेटिक्स संघको निर्वाचनसँगै सेलाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय, सिंहदरवारदेखि प्रधानमन्त्री निवास बालुटारसम्म पुगेको खेलकुदको मुद्दाले यतिबेला कसैलाई प्रफुल्लित बनाएको छ भने कसैको इच्छा आकांक्षामा ठूलो आघात पुर्याएको छ । यो साता चलेको तातो हावाको स्पर्स प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुब आचार्य, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्यहरु, राष्ट्रिय संघका पदाधिकारी र नेपाल ओलम्पिक कमिटीका पदाधिकारी सबैले महसुस गरे । एकले अर्काको अस्तित्व नस्वीकार्ने र एकले अर्काको उछितो काट्दै गर्दा प्रधानमन्त्री ओलीले दिएको निर्देशन सबैभन्दा भारी बन्यो । परिणाम, खेलकुदमन्त्री चौधरीले केहि साताभित्रै नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गर्ने र उचित समयमा कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जस्ता खेलकुदमा हलचल ल्याउने विषयलाई सार्वजनिक रुपमा शंकनाद गरे । जुन खेलकुदका लागि सुखद् पक्ष मानिए पनि एकिन गर्ने कुरामा भने सयौं चोटी सोच्नुपर्ने छ।
अहिले खेलकुद गर्माएको अवस्थामा भएकोले विभिन्न किसिमका सकारात्मक र नकारात्मक टीका टीप्पणी हुनु स्वभाविकै हो । त्यसमा पनि प्रधानमन्त्रीको निर्देशनपछि निकै हौसिएका खेलकुदमन्त्री चौधरी अब आधिकारिक रुपमा कसरी प्रस्तुत हुन्छन्, त्यसले नेपाली खेलकुदको रुपरेखालाई परिवर्तन गर्ने कुरा अड्कल काट्न सकिन्छ । पछिल्लो समय खेलकुदमा खेल मात्रै भएनन्, फोहोरी खेल पनि भए । आश्चर्यको कुरा त खेलकुदका पदाधिकारीहरुबीच अपवित्र गठबन्धन भएको देखियो र सुनियो पनि । जसले खेलकुदलाई तरङ्गीत पार्ने कार्य मात्रै गरेन, खेलकुदमा राजनीति कति हाबी छ, त्यसलाई छताछुल्ल समेत पारिदियो । अझ विपरित ध्रुबको मिलनले कुर्सी मोहलाई मात्रै उजागार गरेन, राखेपका कर्मचारीहरुलाई समेत रनभूल्लमा पारिदियो । यस्ता अकल्पनिय घटनाले कर्मचारीहरुलाई सोच्न मात्र बाध्य पारेन, उनीहरुको मानसपटलमा अविश्वासका खाल्डाहरुले धाक जमाउन थाले । अहिले कर्मचारीहरु अवाक बनेर भन्दै छन्, ‘यस्तै रहेछ खेलकुदको चलन, जुन जोगी आए पनि कानै चिरेका।’ कर्मचारीका मनमा यस्ता निरासाका कम्पन चल्नुले उनीहरु अहिले खेलकुदमा भईरहेको गतिविधिबाट सन्तुन्त छैनन भन्ने प्रस्ट देखिन्छ।
खेलकुद रचनात्मक ठाउँ हो भन्ने सबै खेलकुद पदाधिकारीले बुझेका छन् । र पनि, खेलकुद जस्तो रचनात्मक ठाउँमा फोहोरी राजनीति गर्न खेलकुदका पदाधिकारीले कुनै कसर बाँकी राखेका छैनन् । कसैले आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा आफुलाई नै प्रधानमन्त्री सम्झेको अवस्था छ भने कसैले आफ्नो पार्टीको खेलकुदमन्त्री हुदा आफुलाई नै खेलकुदमन्त्री सम्झेको अवस्था छ । यस्तो विषम् परिस्थिति अर्थात् साँढेको जुधाईमा राखेपका सदस्यसचिव घिसिङ भने नराम्रोसँग पिसिन पुगेका छन्। यस्तो अवस्थामा घिसिङले जुन दुरदर्शिताका साथ कदम चाल्नु पर्ने थियो, त्यसमा उनी चुकेको महसुस हिजो होइन, अहिले गरिन थालिएको छ । घिसिङको डगमगाएको यो कदमले अहिले उनका शुभचिन्तकहरुमा ठूलो कुठाराघात भएको खेलकुद परिसरमा पुग्दा सुनिएका अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ । साँचो अर्थमा भन्नुपर्दा राजनीति गर्ने व्यक्तिले कुनै संस्थाको पदाधिकारी या कार्यकारि प्रमुख बन्दैमा राजनीति गर्न छोड्दैन । आफुलाई सफल पार्न अर्थात् गन्तव्यमा पुर्याउन उसले राजीनीतिका हरेक दाउपेचको अवलम्बन गर्छ । त्यो कुरामा उसलाई छुट पनि छ । तर, जसको भविष्य उज्ज्वल छ, एक ढोका बन्द भए अर्को ढोका खुल्ला भएको व्यक्तिले आफ्नो प्रभावशाली व्यक्तित्वको आभाष नपाउनु भनेको दुःखद कुरा हो।
अहिले नेपाली खेलकुदमा खेलकुद विकासको होइन, राजनैतिक उदण्डताको झण्डा फरफराई रहेको छ । एकादलाई छोडेर सम्पूर्ण खेलकुदका पदाधिकारीले राजनीतिक शक्तिको आडमा फोहोरी खेल खेल्दै आफ्नो रोटी सेक्दै आएका छन् । खेलकुदमा यस्तो कार्य हुनु दुर्भाग्य हो । र पनि, यस्तो छुद्रता देखाउने कार्यमा रोक लगाउने कसैले प्रयास गरेको नदेखिनु खेलकुदको लागि ठूलो बिडम्बना बनेको छ । अहिले खेलकुदमा होड नै चलेको छ, ‘आफै खाउँ, आफै लाउँ, तात्तातो खाउँ र चाँडै मरौं।’ के यस्तो गैरकानुनी कार्यले खेलकुदको नियम कानुनलाई आत्मसात गर्छ? कदापी गर्दैन । तसर्थ राजनीतिक शक्तिको आडमा कुनै पनि व्यक्ति विशेषले खेलकुदको राग अलाप्न मिल्दैन । सबै कुरा नियम कानुन सम्मत हुनुपर्छ । यो कुरा खेलकुद पदाधिकारीले मात्रै होइन, निर्देशन दिने निकायमा बस्ने व्यक्तिले पनि आत्मसात गर्नुपर्छ । जथाभावी निर्णय र निर्देशन दिएर खेलकुदको हुर्मत लिने कार्य गर्नु हुदैन । सबैलाई चेतना भया । जय होस्!





