काठमाडौं । विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुकेएफओ) द्वारा आयोजना गरिएको बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनारको उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा डब्लुकेएफओका अन्तर्राष्ट्रिय अध्यक्ष ब्रायन डब्लु बेकको विशेष उपस्थितिमा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ र बेकले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे । यस अवसरमा डब्लुकेएफओ नेपालका महासचिव, चिफ रेफ्री तथा एसियाली किक बक्सिङकी स्वर्ण विजेता बिन्दा नेपालीको पनि उपस्थिति रहेको थियो ।
प्रशिक्षक, रेफ्री तथा विभिन्न डोजोबाट सहभागी खेलाडीहरूले प्रशिक्षणमा भाग लिएका छन् । यस सेमिनारले नेपालको किकबक्सिङ खेलको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने संघले जनाएको छ ।
उक्त सेमिनारमार्फत प्राविधिक सीपको आदान–प्रदान, अन्तर्राष्ट्रिय नियमहरूको अध्ययन तथा प्रशिक्षकहरूको क्षमतावृद्धिमा केन्द्रित प्रशिक्षण प्रदान गरिनेछ । डब्लुकेएफओ अध्यक्ष बेकले कार्यक्रममा बोल्दै भने— ‘नेपालमा किक बक्सिङप्रतिको लगाव र समर्पण अद्भुत छ । यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पुर्याउने लक्ष्य लिएको छ ।’
कार्यक्रम समापनसम्म बेल्ट परीक्षण, रेफ्री तालिम र प्रशिक्षक स्तरको सेसनहरू सञ्चालन हुँदै छन् । शनिबारदेखि सुरु हुने चार दिने बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार किक बक्सिङ खेलको अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र मूल्यांकन विधिमा केन्द्रित रहनेछ ।
कार्यक्रममा सहभागी खेलाडीहरूलाई ग्रेडिङ परीक्षा मार्फत प्राविधिक तथा शारीरिक क्षमताको मूल्यांकन गरिनेछ भने रेफ्रीहरूलाई प्रतिस्पर्धा सञ्चालन, निर्णय प्रक्रिया र खेल नियम सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक तालिम प्रदान गरिने संघले जनाएको छ ।
साथै, प्रशिक्षकहरूलाई प्रशिक्षण रणनीति, शारीरिक तालीम विधि र अनुशासन व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण दिइनेछ । डब्लुकेएफओका अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षकहरूको सहकार्यमा हुने यस सेमिनारले नेपालभित्र किक बक्सिङ खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास संघले लिएको छ ।




