काठमाडौं । विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा नेपाली नागरिक राजु क्षेत्री मनोनीत भएका छन् ।
दक्षिण कोरियाको राजधानी सिओलस्थित कुकिवन मुख्यालयमा आयोजित कार्यक्रममा कुकिवनका अध्यक्ष डा. लि दङसुक र विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वईले क्षेत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
क्षेत्री कुकिवनको उपाध्यक्षमा नियुक्त हुने पहिलो विदेशी तथा नेपाली तेक्वान्दो अन्तर्राष्ट्रिय रेफ्री हुन् । सन् १९७२ मा स्थापना भएको कुकिवन विश्वभर २१३ राष्ट्र सदस्य रहेको प्रमुख तेक्वान्दो संस्था हो, जसअन्तर्गत झण्डै १२ करोड ६२ लाख ब्ल्याक बेल्ट सदस्य छन्।

क्षेत्रीले २०२३ यता युएस ओपन च्याम्पियनसिपमा लगातार निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन्। साथै, उनले कोरियामा आयोजित जी–वान वरीयताको किमुन्योङ कप, जापानको ओसाका ओपन, र सिओङनाम ओपन जस्ता प्रतियोगितामा पनि निर्णायकको भूमिका निभाएका थिए।
खेलाडीको रुपमा समेत सफलता हात पारिसकेका क्षेत्रीले सन् २००८ मा कोरियामा भएको विश्व वरीयताको जी–टु कोरियन ओपनमा स्वर्ण पदक जितेका थिए। उनको यो मनोनयनले अन्तर्राष्ट्रिय तेक्वान्दो क्षेत्रमा नेपालीको प्रतिनिधित्वलाई नयाँ उचाइमा पुर्याएको छ।




