काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया प्रस्थान गरेकी छिन् ।
विभागीय नेपाल एपीएफ क्लबमार्फत लामो समयदेखि घरेलु भलिबलमा सक्रिय रहेकी कविताले हालै क्लबबाट राजीनामा दिँदै नयाँ यात्रा सुरु गरेकी हुन् ।
गत वर्ष आयोजित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा ‘पिपुल्स च्वाइस अवार्ड’ जित्दै चर्चामा आएकी कविताले अब अष्ट्रेलियामा बसोबास गर्दै भलिबल तथा अध्ययन दुबैलाई अगाडि बढाउने तयारी गरेकी छिन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरिसकेकी कविता नेपाली महिला भलिबलमा प्रतिभाशाली खेलाडीका रूपमा चिनिन्छिन् ।
उनको अष्ट्रेलिया यात्रा नेपाली भलिबलका लागि एक दुःखद् क्षण भए पनि व्यक्तिगत रूपमा उनले अझ उज्यालो भविष्य खोजेकी बुझिएको छ ।




