खेलाडीहरु चिन्तन गर्न सक्ने हुुनुपर्छ । समस्यालाई केलाउन, निराकरण गर्न खेलाडीलाई चिन्तनको आवश्यकता पर्दछ । चिन्तन नै गर्न नसक्ने खेलाडीले राम्रो खेल खेल्न सक्दैनन् । खेलाडीलाई यो चिन्तन के हो, कतिबेला आवश्यक हुन्छ, किन आवश्यक पर्छ, भन्ने कुरा थाहा हुनुपर्छ । वास्ततमा चिन्तन एक जटिल मानसिक प्रक्रिया हो । चिन्तन प्रक्रियाको जटिलता सबैभन्दा बढी मानिसमा पाइन्छ । मानिसको खेल जीवन, सामाजिक जीवन, सांस्कृतिक जीवनमा थुप्रै समस्याहरु सिर्जना हुन्छन् । समस्यालाई निराकरण गर्नका लागि चिन्तनको आवश्यकता पर्दछ । मनोविज्ञ कोलिन्स र ड्रेमरका अनुसार, प्राणीको परिस्थितिप्रति चेतन अभियोजन नै चिन्तन हो ।
चिन्तन क्रियाको विश्लेषणका पनि आ–आफ्नै तहहरु छन् । कुनै समस्याको उपस्थिति पछि नै चिन्तन क्रिया प्रारम्भ हुनु पहिलो अवस्था हो । समस्याको उपस्थितिपछि हामी त्यस समस्यालाई राम्रोसँग जान्न बुझ्नका लागि त्यसका विभिन्न तत्वहरुलाई विश्लेषण गर्दछौं । विश्लेषण गरेपछि हामी आफ्नोगत अनुभवको आधारमा सबै तथ्यहरुलाई कुनै खास प्रत्ययको श्रेणीमा राख्दछौं । यो प्रक्रियालाई अनुमान भनिन्छ । यो चिन्तनको दोश्रो अवस्था हो ।
पूर्व अनुमानविना ति तथ्यहरुको तुलना, मूल्याङ्कन तथा वर्गिकरण पूर्णतः असम्भव हुन्छ । तेस्रो अवस्था निर्णयको अवस्था हो । निर्णय गर्नुभन्दा अगाडि बृहत चिन्तन गरिनुपर्छ । त्यसको गुण र दोष थाहा पाउनु पर्छ । गुण र दोषलाई चिन्तन गरेपछि मनमा एउटा होस्, सुझाव झल्किन्छ । हामीले त्यहि सुझावलाई चिन्तनको निस्कर्ष ठान्नु पर्दछ । यसप्रकार कुनै खास निश्चयवस पुगेपछि चिन्तन क्रिया समाप्त हुन्छ । (सहयोगी पुस्तक जेनरल साइकोलोजी)
खेलाडीका सम्बन्धमा अझ धेरै चिन्तन आवश्यक हुन्छ । आज राम्रो खेल खेल्ने खेलाडीले भोलि नराम्रो खेल खेल्न पनि सक्दछ । मेरो खेल किन, कसरी नराम्रो भयो भन्ने समस्यालाई चिन्तन गर्नुपर्छ । चिन्तनबाटै खेलमा सुधार गर्न सकिन्छ। तर, के भयो, भयो, भोलि देखाजाएगा भनेर निस्क्रियता देखाउन थालेको खण्डमा खेलाडीले राम्रो खेल खेल्न सक्दैनन्।
मनोविज्ञका अनुसार साहचर्यात्मक र निर्देशित चिन्तन नै चिन्तनका दुई हाँगा हुन् । साहचर्यात्मक चिन्तन अन्तर्गत स्वतन्त्र, साहचार्य, नियन्त्रित साहचार्य, मनोबिलास, दिवास्वप्न, निशास्वप्न र वैयक्तिक चिन्तनहरुलाई लिन सकिन्छ । एक शब्दमा अर्को शब्द भयो भने साहचर्या हुन्छ । र, जब आदेशबाट शब्द क्रममा प्रतिबन्ध लगाइन्छ तब त्यो नियन्त्रित साहचर्या हुन्छ । र, जब व्यक्ति काल्पनिक संसारमा चिन्तन गरेर घुमि रहन्छ, तब त्यसलाई मनोविला र दिवास्वप्न भनिन्छ । व्यक्तिगत विश्वास र निर्णयमा आधारित चिन्तन वैयक्तित चिन्तन हो ।
त्यसैगरि निर्देशित चिन्तनमा तर्क वाक्य ठीक छ, कि बेठीक छ भन्ने निर्णय गरिन्छ । घटनाको कारण के हो, कसरी घटना जन्मियो भन्ने कुरामाथि विचार गरिन्छ, चिन्तन गरिन्छ । वास्तवमा निर्देशित चिन्तनमा सिर्जनात्मक क्षमता पनि हुन्छ । नौंलो कुराको खोजी गरिन्छ, नौंलो तरिकाबाट समाधान गरिन्छ । नयाँ विधिको आविष्कार गरिन्छ, सिद्धान्तहरुको प्रतिपादन हुन्छ ।
तर, प्रशिद्ध मनोेविज्ञ वाटसनको चिन्तनका सम्बन्धमा अलिक भिन्न विचार छ । उनी चिन्तनलाई शारीरिक क्रिया हो भन्छन् । उमेर बढ्दै गएपछि हामी कम बोल्दछौं र अन्त्यमा हामी मनमा बोल्न थाल्दछौं । जसलाई चिन्तन भनिन्छ । भनाईमा जुन प्रकार फुटबल खेल्दा शारीरिक क्रियाहरु हुन्छन् । हामी खेल्ने प्रक्रियालाई हेर्न सक्छौं। तर चिन्तन गर्दा सक्रिय भएका भित्रि शारीरिक क्रियाहरुलाई हेर्न सक्दैनौं । तर, खास यन्त्रबाट वैज्ञानिकहरुले हेरेका पनि छन् ।
अतः खेलाडीलाई सकारात्मक निर्णय गर्न प्रशिक्षकहरुले चिन्तन गर्न सिकाउनु पर्छ । सरल र जटिल समस्याहरुलाई सहि चिन्तन गर्न सक्ने खेलाडीहरुले ख्याति कमाई रहेका हुन्छन् ।





