एएफसी यू–२० एसियन कप छनोट: साउदीको पोस्टमा उत्तर कोरियाको १५ गोल

काठमाडौं । एएफसी एसियन कप र फिफा विश्वकप दुवैको पूर्व विजेता उत्तर कोरियाले भुटानमा बुधबारबाट शुरु भएको एएफसी यू–२० महिला एसियन कप छनोटमा शानदार शुरुवात गरेको छ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा उत्तर कोरियाले तुलनात्मक रुपमा कमजोर टोली साउदी अरेबियालाई १५–० ले पराजित गर्दै गोलको वर्षा गरेको हो।

पहिलो हाफमै ९–० को अग्रता लिएको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्दै साउदी अरेबियामाथि पूर्ण दबदबा जमायो। यो जित हालसम्म प्रतियोगिताको सबैभन्दा फराकिलो नतिजा हो।

समूह ‘ए’ कै अर्को खेलमा बुधबार साँझ नेपाली समयानुसार ५ः४५ बजे नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

यस पटकको छनोट प्रतियोगितामा कुल ३२ टोली सहभागी छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा सिंगल राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको समूह विजेताले सन् २०२६ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यू–२० एसियन कपको १२ औं संस्करणमा स्थान बनाउनेछ। समूह विजेतासँगै उत्कृष्ट प्रदर्शन गर्ने तीन उपविजेता टोलीले पनि थाइल्यान्डको यात्रा तय गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :