समिम मियाको नेपाल कुस्ती संघसँग कुनै सम्बन्ध नरहेको भन्दै भ्रममा नफस्न आग्रह

काठमाडौं । नेपाली खेलकुद क्षेत्र विवादास्पद अवस्थामा रहेको बेला नेपाल कुस्ती संघले केही व्यक्तिहरूले संघको नाममा गैरकानुनी गतिविधि गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। संघले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा यस प्रकारको अनधिकृत कार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरूको सहभागिता तथा तयारीमा बाधा पुग्ने उल्लेख गरिएको छ।

संघका अनुसार, सर्वोच्च अदालतको २०७७ चैत ३ गतेको फैसलाले खारेज गरिसकेको कार्यसमितिका पूर्व अध्यक्ष राज मोहम्मद मिया अन्सारी र वरिष्ठ उपाध्यक्ष समिम मिया अन्सारीले आफूलाई नेपाल कुस्ती संघको प्रतिनिधि भनेर विभिन्न गतिविधिमा संलग्न भइरहेका छन् । जुन पूर्ण रूपमा अमान्य र भ्रामक रहेको संघको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “खेलकुद क्षेत्रको समस्याको समाधानका लागि नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीच तत्काल समन्वय र छलफल जरुरी छ। अन्यथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको सहभागिता प्रभावित हुने निश्चित छ।”

नेपाल कुस्ती संघले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ को आधारमा २०८० चैत ४ गते सम्पन्न साधारण सभाबाट निर्वाचित प्रकाश कुमार कुसारी नेतृत्वको कार्यसमिति नै वैधानिक रहेको स्पष्ट पारेको छ। संघले स्पष्ट रूपमा जनाएको छ कि सोही मितिबाट कुश्ती संघसम्बन्धी विवाद अन्त्य भइसकेको छ र उक्त समितिलाई संयुक्त विश्व कुस्ती र नेपाल ओलम्पिक कमिटी दुवैले आधिकारिक मान्यता दिइसकेका छन्।

संघका महासचिव खगेन्द्र बहादुर बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा समिम मिया अन्सारी हाल तदर्थ ओलम्पिक कमिटीका प्रवक्ता भए तापनि उनको नेपाल कुस्ती संघसँग कुनै सम्बन्ध नरहेको स्पष्ट गरिएको छ। संघले यस्ता भ्रामक गतिविधिमा नफस्न सबै खेलकर्मी, प्रशिक्षक, संस्था र सरोकारवालालाई आग्रह समेत गरेको छ।

संघको प्रेस विज्ञप्ति:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :