नेपालीहरुको महान चाड विजया दशमी २०८२ सबैको घर आँगनमा टुपुल्कि सकेको छ । दुःख, सुख र वेदनाका बावजुद पनि बडा दशैंलाई स्वागत गर्न सबै नेपाली आतुर देखिएका छन् । ऋण नै गरेर किन नहोस्, परिवारलाई मीठो, मसिनो खुवाउन र नयाँ लुगा लगाएर नवदुर्गा भवानीको प्रसाद ग्रहण गर्न यतिबेला राजधानीलाई कर्म क्षेत्र बनाएका व्यक्तिहरु शहरबाट आफ्नो गाउँ घर फर्किसकेका छन् । बडा दशैंको यो रौनकले नेपालीहरुमा हर्ष र उल्लास मात्र छाएको छैन, बाँचेरै दशैं मनाउन पाएकोमा गौरव समेत गरिरहेका छन् ।
यतिबेला मुलुकको राजनीति निकै तरल अवस्थामा छ । त्यसमाथि प्राकृतिक प्रकोपले मुलुकको जगलाई नराम्रोसँग हल्लाउने कार्य गरेको छ, जुन अहिलेसम्म रोकिएको अवस्था छैन । यस्तो विषम परिस्थितिमा आगमन भएको बडा दशैंले सबै आपत विपतमाथि विजय प्राप्त गर्दै मुलुकमा अमन चयन कायम हुने विश्वास गरिएको छ ।
दुर्गा भवानीले असुरमाथि विजय प्राप्त गरेपश्चात उत्सवको रुपमा मनाउँदै आएको बडा दशैंले यो पटक मुलुकमा छाएका काला बादलहरुलाई हटाएर नौंलो खुशी र आनन्दको महसुस गराउने विश्वास गरिएको छ । बडा दशैंको यो पावन अवसरमा सम्पूर्ण नेपालीमा खुशीको बहार आओस्, दर्गा भवानीले सबैको मनोकामना पूर्ण गरुन्, स्वदेश र विदेशमा रहेका नेपालीहरुमा मेरोखेल डटकम परिवार विजया दशमी २०८२ को शुभकामना व्यक्त गर्दछौं ।




