फिफाबाट मलेसिया कारबाहीमा परेपछि नेपाललाई एएफसी छनोटमा तीन अंकको आशा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसिया फुटबल संघमाथि कडा अनुशासनात्मक कारबाही गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा अप्रत्याशित तीन अंक पाउने सम्भावना बलियो भएको छ। फिफाको अनुशासन समितिले शनिबार गरेको निर्णय अनुसार, मलेसियाले अयोग्य खेलाडीहरूलाई खेलाएको पुष्टि भएपछि संघलाई आर्थिक जरिवाना र खेलाडीहरूलाई प्रतिबन्धको सजाय सुनाइएको हो। फिफाको अनुशासन संहिता (एफडीसी) को धारा २२ उल्लंघन गर्दै मलेसियाले फर्जी कागजात प्रयोग गरेर अयोग्य खेलाडी मैदानमा उतारेको फेला परेको हो।

कारबाही अनुसार, मलेसियाका सात खेलाडीलाई एक वर्षसम्म फुटबल सम्बन्धी सबै गतिविधिबाट प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धित खेलाडीहरूमा रोड्रिगो हुलियन होलगाडो र जाओ भिटर ब्रान्डाओ फिगुएरेडो पनि छन् । जसले भियतनामविरुद्ध मलेसियाको ४-० को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। साथसाथै, खेलाडीहरूलाई २००० स्विस फ्र्यान्क (झन्डै ३ लाख ५४ हजार नेपाी रुपैयाँ) जरिवाना पनि गरिएको छ।

मलेसिया फुटबल संघलाई भने ३५ हजार स्विस फ्र्यान्क (झन्डै ६ करोड २० लाख नेपाली रुपैयाँ) जरिवाना तिर्नुपर्नेछ। फिफाले संघ र खेलाडीहरूलाई १० दिनभित्र अपील गर्न सक्ने अधिकार दिएको छ। यसबाहेक, प्रतिबन्धित खेलाडीमध्ये एक लरेन्स कोर्विन ओङले गत मार्चमा नेपालविरुद्ध भएको खेलमा गोल गरेका थिए। उक्त खेलमा मलेसियाले नेपाललाई २-० ले हराएको थियो।

अब सो खेलमा अयोग्य खेलाडीको सहभागिता देखिएकाले नेपाललाई तीन अंक सिधै प्रदान गरिन सक्ने सम्भावना बढेको हो। यस घटनाबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी भइसकेको छ। एन्फाका महासचिव किरण राईका अनुसार एन्फा यतिबेला फिफाको निर्णयको प्रतिक्षामा रहेको छ ।

एसियन कप छनोटमा नेपालले हालसम्मको प्रदर्शनमा निराशाजनक नतिजा हात पारेको छ। समूहको दोस्रो खेलमा नेपाल लाओससँग २-१ ले पराजित भएको थियो। हाल अंक तालिकाको पुछारमा रहेको नेपालले आगामी अक्टोबर ९ र १४ मा समूहकै बलियो टिम भियतनामसँग होम एण्ड अवे खेल खेल्ने तयारीमा छ।

नेपालले साउदी अरेबियामा हुने एसियन कप २०२७ को छनोटमा बाँकी खेलहरू जित्नैपर्ने दबाबमा रहेको छ । किनभने समूहको शीर्ष स्थान हासिल गर्न सके मात्र नेपाल सिधै एसियन कपका लागि छनोट हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोली हाल सेप्टेम्बर २३ यता बन्द प्रशिक्षणमा जुटेको छ। ३३ सदस्यीय टोली आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :