इटलीले एफआईभीबी पुरुष भलिबल विश्व च्याम्पियनसिप २०२५ को उपाधि जित्दै आफ्नो दबदबा कायम राखेको छ। आइतबार फिलिपिन्सको मनिलामा सम्पन्न फाइनल खेलमा बुल्गेरियालाई ३-१ को सेटमा पराजित गर्दै इटलीले लगातार दोस्रो तथा समग्रमा पाँचौं पटक विश्व च्याम्पियन बनेको हो।
यसअघि सन् २०२३ मा उपाधि जितेको इटलीले यस वर्ष पनि उत्कृष्ट लय कायम राख्दै उपाधि रक्षा गर्न सफल भयो। समूह चरणको एक खेलमा बेल्जियमसँग हार बेहोरेको भए पनि त्यसपछिका सबै खेलमा इटली अपराजित रहँदै शीर्ष स्थानमा पुग्न सफल भयो ।
मनिलाको भरिपूर्ण रंगशालामा दर्शकहरूको उत्साहबीच भएको फाइनलमा इटलीले निकै आत्मविश्वासका साथ खेलको सुरुवात गरेको थियो। पहिलो सेटमा इटलीले बुल्गेरियामाथि २५-२१ को सहज जित निकालेको थियो। दोस्रो सेटमा अझ आक्रामक देखिएको इटलीले २५-१७ को अन्तरले सेट जित्दै २–० को अग्रता बनायो।
तर तेस्रो सेटमा बुल्गेरियाले पुनरागमनको प्रयास गर्दै २५-१७ ले सेट आफ्नो पक्षमा पार्यो र खेललाई प्रतिस्पर्धात्मक बनाउने संकेत दियो। यद्यपि चौथो सेटमा इटलीले पुनः आफ्नो पुरानै स्तरमा फर्किंदै बुल्गेरियालाई २५-१० ले एकतर्फी रूपमा पराजित गर्यो र उपाधिमा कब्जा जमायो।




