काठमाडौं । आदिल अन्सारीको अलराउन्ड प्रदर्शनमा नेपालले टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलामा कब्जा जमाएको छ।
वेस्ट इन्डिजविरुद्धको पहिलो युनिटी कप टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत सोमबार राति सम्पन्न दोस्रो खेल ९० रनले जित्दै नेपालले एक खेलअघि नै सिरिज आफ्नो पक्षमा पारेको हो।
युएईको सारजाह क्रिकेट मैदानमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१, अकिम अगस्टेले १७ र आमिर जाङ्गुले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका लागि आदिल अन्सारीले ४, कुशल भुर्तेलले ३ तथा दीपेन्द्रसिंह ऐरी, करण केसी र ललितनारायाण राजवंशीले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखलेले अविजित रहदै सर्वाधिक ६८, सन्दीप जोराले ६३ र आदिल अन्सारीले ११ रनको योगदान दिएका थिए । वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान २ तथा जेडिया ब्लेड्सले १ विकेट लिए ।
लगातार दोस्रो जितसँगै तीन खेलको टी-२० शृंखलामा नेपालले २-० को अग्रता लिएको छ । पहिलो खेल नेपालले १९ रनले जितेको थियो।
शृंखलाको तेस्रो तथा अन्तिम खेल आज मंगलबार हुनेछ। तेस्रो खेलमा पनि जित निकाल्न सके नेपालले शृंखला क्लिन स्विप गर्नेछ ।




