वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी-२० शृंखला २-१ ले नेपालको पक्षमा

काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला २-१ ले जित्दै इतिहास रचेको छ। पूर्ण सदस्य राष्ट्रविरुद्धको यो नेपालका लागि पहिलो द्विपक्षीय शृंखला जित हो ।

जसले नेपाली क्रिकेटको प्रगतिको नयाँ अध्याय कोरेको छ। यद्यपि शृंखलाको अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो।

युएईको शारजाह क्रिकेट रंगशालामा मंगलबार राति सम्पन्न तेस्रो खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले केवल १२.२ ओभरमै बिना विकेट गुमाई सजिलै पूरा गर्यो।

वेस्ट इन्डिजका लागि ओपनर आमिर जाङ्गुले अविजित ७४ रन बनाए भने अर्का ओपनर अकिम अगस्टेले पनि नटआउट ४१ रन बनाएर सहज जित दिलाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमै १२२ रनमा अलआउट भएको थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रनको योगदान दिएका थिए।

वेस्ट इन्डिजका बलरहरू प्रभावशाली रहे- रेमोन सिमन्ड्सले ४ विकेट लिए भने जेडिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले १-१ विकेट लिए।

शृंखलाको पहिलो खेलमा नेपालले १९ रनको जित निकालेको थियो भने दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको फराकिलो जित हासिल गरेको थियो।

यो ऐतिहासिक शृंखलामा जितसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमताको सशक्त परिचय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :