फिफा विश्वकप २०२६ को लागि एसियाली क्षेत्रको छनोट चरणमा मंगलबार राति सम्पन्न खेलहरूले दुई ठूला राष्ट्र कतार र साउदी अरेबियालाई विश्वकपमा स्थान दिलाएका छन्। समूह ‘ए’ अन्तर्गत भएको खेलमा कतारले संयुक्त अरब इमिरेट्स (युएई) लाई २-१ ले पराजित गर्दै विश्वकपको यात्रा तय गरेको हो।
दोहास्थित जसिम बिन हमाद रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कतारका लागि बोआलेम खुखी र पेड्रो मिगुएलले गोल गरेका थिए। युएईका लागि सुल्तान आदिल अलामिरीले एकमात्र सान्त्वना गोल फर्काए।
यो जितसँगै कतारले दुई खेलमा चार अंक जोड्दै समूहको शीर्ष स्थानमा रहँदै विश्वकप २०२६ को छनोट चरण पार गरेको हो। कतारले अघिल्लो संस्करणमा आयोजकको रूपमा सहभागिता जनाए पनि छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएको यो पहिलो पटक हो।
यस्तै, समूह ‘बी’ को खेलमा इराकसँग गोलरहित बराबरीमा रोकिए पनि साउदी अरेबिया गोलअन्तरका आधारमा समूह विजेता बन्दै विश्वकपमा स्थान सुरक्षित गर्न सफल रह्यो।
साउदीले खेल्ने यो सातौं विश्वकप हुनेछ। यसअघि उसले १९९४, १९९८, २००२, २००६, २०१८ र २०२२ मा विश्वकप खेलेको थियो। कतार र साउदीको समावेशीसँगै विश्वकप २०२६ का लागि छनोट हुने राष्ट्रको संख्या २८ पुगेको छ। अब बाँकी २० स्थानका लागि विभिन्न महादेशीय छनोट जारी छन्।
हालसम्म विश्वकपमा स्थान पक्का गरेका राष्ट्रहरूमा युरोपबाट इङ्गल्याण्ड, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, सेनेगल, आइभोरी कोस्ट र दक्षिण अफ्रिका, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, इरान, जोर्डन, उज्वेकिस्तान, कतार र साउदी अरेबिया रहेका छन् ।
गस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे, ओसियनियाबाट न्युजिल्याण्ड विश्वकपका लागि छनोट भएका छन् । आयोजकको रूपमा अमेरिका, क्यानाडा र मेक्सिकोले सिधै विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।
४८ राष्ट्र सहभागी हुने विश्वकप २०२६ अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुनेछ। विश्वकप आगामी वर्ष जुन ११ मा शुरु भई जुलाई १९ सम्म चल्नेछ।




