आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेट २०२५ अन्तर्गत इङ्गल्याण्ड र पाकिस्तानबीच बुधबार भएको खेल बराबरीमा टुङ्गिएको छ । वर्षाका कारण खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाडेका छन् । जारी आईसीसी विश्वकपमा वर्षाले प्रभावित पारेको यो तेस्रो खेल हो।
वर्षाका कारण ३१ ओभरमा सिमित गराइएको खेलमा टस हारेर इङ्गल्याण्डले पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १३३ रन बनाएको थियो । इङ्गल्याण्डको तर्फबाट चार्ली डेनले सर्वाधिक ३३ रन बनाउँदा हेदर नाइट र इमिली एरोटले १८ रनको समान योगदान दिएका थिए।
इङ्गल्याण्डलाई सस्तैमा समेट्न फतिमा सनाले सर्वाधिक ४ विकेट लिएकी थिइन् । फतिमा ६ ओभरमा २७ रन दिदै इङ्गल्याण्डको ४ विकेट लिएकि हुन । त्यस्तै सदाई इकवालले २ र रमीन समिमले १ विकेट लिएकी थिइन्।
१३४ रनको विजय लक्ष्य पाएको पाकिस्तानले उत्कृष्ट शुरुवात गर्दै ६ं४ ओभरमा कुनै विकेट नगुमाई ३४ रन बनाएपनि त्यसपछि पुनः भएको वर्षाले बाँकि ओभरको खेल हुन सकेन । यसपछि खेल रद्द हुदै बराबरीमा टुङ्गिएको थियो । पाकिस्तानको तर्फवाट ओमाइमा सोहेलले १९ र मुनिवा अलिले अविजित ९ रन बनाएका थिए।
इङ्गल्याण्ड र पाकिस्तानबिचको खेल बराबरीमा टुङ्गिएपछि पाकिस्तानले ठूलो धक्का लागेको छ । बाँकि ओभरका खेल भएको भए पाकिस्तानले जित्ने देखिएको भएपनि बर्षा बाधक बन्दा पाकिस्तानले १–१ अंककै चित्त बुझाउनु परेको थियो । यो बराबरीसंगै पाकिस्तानको सुपर फोरमा पुग्ने सम्भावना झिनो समेत बनेको छ।
यो बराबरीसँगै इङ्गल्याण्डलाई भने निकै फाइदा भएको छ। इङ्गल्याण्ड चार खेलमा अपराजित रहदै अंक तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ । यसअघि अस्ट्रेलिया अंक तालिको पहिलो स्थानमा थियो। त्यस्तै अंक तालिकाको तेस्रो स्थानमा दक्षिण अफ्रिका र चौथो स्थानमा भारत रहेका छन्।




