काठमाडौं । नेपालएथ्लेटिक्स् संघले भारतको झारखण्डमा सञ्चालन भएको चौथो दक्षिण एशियाली सिनियर एथ्लेटिक्स् च्याम्पियनसिपमा सहभागिता जनाई पदक जित्ने एथलेटिक्स खेलाडीहरुलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।
कार्तिक ६ देखि ८ गतेसम्म भारतको झारखण्डमा भएको उक्त च्याम्पियनसिपमा विभिन्न समुहतर्फ पदक जित्ने खेलाडीलाई एथ्लेटिक्स् संघका महासचिव संजीव तुलाधरले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन्।
चौथो दक्षिण एशियाली सिनियर एथ्लेटिक्स् च्याम्पियनसिपमा दक्षिण एशियाली मुलुकका पाँच राष्ट्रहरुले सहभागिता जनाएका थिए । उक्त च्याम्पियनसिपमा १० हजारतर्फ राजन रोकाय र ८ सय मिटरतर्फ सोमबहादुर कुमालले रजत पदक जितेका थिए। रजत पदक जित्ने दुवै खेलाडीले सम्मानसहित समान नगद २५ हजार प्राप्त गरे।
त्यस्तै, कीर्तिमानी धाविका सन्तोषी श्रेष्ठले ८ सय र १५ सय मिटर दौडमा कान्छिमाया कोजुको राष्ट्रिय कीर्तिमान भंग गर्दै दोहोरो कास्य पदक जिते वापत सम्मानसहित नगद ३० हजार प्राप्त गरिन् । यसैगरि ५ हजार मिटरतर्फ मुकेश बहादुर पालले कास्य र मिक्स रिलेमा सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिता थारुले रजत पदक प्राप्त गरेका थिए।

एथ्लेटिक्स् संघले चौथो दक्षिण एशियाली सिनियर एथलेटिक्स च्याम्पियनसिप रजत पदक जित्ने खेलाडीलाई २५ हजार र कास्य पदक जित्ने खेलाडीलाई नगद १५ हजार प्रोत्साहन स्वरुप प्रदान गरेको हो।
साथै संघले खेलाडीलाई प्रदान गरिएको रकम प्रतियोगितामा सफलता हासिल गरेको पदक बमोजिम नभएको र प्रोत्साहनका लागि मात्र प्रदान गरिएको संघका सचिव आर.के विष्टले जानकारी दिए । त्यस्तै विष्टले प्रतियोगितामा सहभागि प्रशिक्षकहरुलाई केहि समयपछि सम्मान गरिने पनि जनाए।
यसैगरी, एथ्लेटिक्स् संघले खेलकुदको विकासमा देशभरि प्रशिक्षकको अभावको महसुस गर्दै आउँदो जनवरीदेखि अन्तर्राष्ट्रिय प्रशिक्षकबाट ४८ जना व्यक्तिको लागि लेवल वान प्रशिक्षण कोर्स सञ्चालन गर्न लागेको जानकारी गराएको छ।
कार्यक्रमको समापन गर्दै संघको प्रवक्ता तथा केन्द्रीय सदस्य शिव आचार्यले पदक विजेता खेलाडीहरुलाई बधाई दिदै यो भन्दा उत्कृष्ट नतिजा ल्याउन भविष्यमा संघले दुरदर्शि तरिकाले कार्य गर्ने जानकारी गराए । यस्तै, उचित व्यवस्थापन भए खेलाडीहरुले यो भन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै संघलाई ध्यानाकर्षण समते गराएका थिए।




