नेपालको खेलकुद विकास गर्न धेरै कुराको आवश्यकता छ । खासगरि हाम्रो जस्तो मुलुक जहाँ थोरै उद्योग धन्दा, कलकारखाना छन्। रोजगारीका अवसरहरु न्यून छन् । बजार सानो छ । सानो भन्दा सानो कुरामा पनि परनिर्भरता छ । आफ्नो खुट्टामा उभिने, प्रगति, उन्नति गर्ने प्रयास नगरिएको पनि होइन तर ति सबै प्रयासहरु खेर गएका थिए।
यस्तोमा, खेलकुदको सार्थकता खोज्दैछौ हामी । राष्ट्र हो, त्यो पनि एक स्वतन्त्र राष्ट्र । हामी कसैको परधिन भएनौं । हाम्रै आफ्नै शान र शौकतले स्वतन्त्र भएका हौं । हाम्रो आफ्नै गरिमा छ, इज्जत छ । मुलुक सानो भएर के भयो, विश्वमा नै नाम कमाएर बसेका छौं । हामीलाई नेपाली हुनुमा जति गौरव अरु केहिमा लाग्दैन । तसर्थ हाम्रो शान, मान र इज्जत अझ अगाडि बढाउन हाम्रो सम्पूर्ण प्रयासहरु चुनिएर गर्नु पर्दछ । थोरै लगानीमा धेरै काम गर्नु छ हामीले।
यो त हामीलाई थाहा छ, खेलकुद नै एउटा यस्तो माध्यम हो जसले सम्पूर्ण नेपालीलाई एकतामा बाँधेको छ । तसर्थ खेलकुदको विकास सोचेर सम्झिएर गर्नु पर्दछ । यो त सत्य हो कि सवै खेलको एकै पटक विकास गर्न सम्भव हुदैन । यसतोमा हामीले खेल प्राथमिकता तोक्नै पर्दछ । खेल प्राथमिकता तोक्ने विभिन्न आधारहरु हुन्छन्।
उदाहरणका लागि केहि खेल अन्तर्राष्ट्रिय पदक जितिरहेका आधारमा चयन गर्न सकिन्छ । र, केहि खेल लोकप्रियताको आधारमा, केहि खेल न्यून लगानीको आधारमा, केहि खेल सर्वाधिक खेलिने आधारमा, केहि भौगोलिक आधारमा, केहि खेल जातिएताको आदिमा हुन्छन्।
यस्तो अवस्थामा, सरकारले पहिलो चरणमा कुन खेललाई प्राथमिकतामा राख्ने हो त्यसको छनौट गर्नुपर्छ । र, सोहि बमोजिमको भौतिक पूर्वाधारको विकास थाल्नु पर्दछ । प्रशिक्षक, निर्णायक, चिकित्सक आदिको व्यवस्था गर्नु पर्दछ । सो खेलको पूर्वाधार विकासका लागि गाउँ, नगर, प्रदेशका सरकारसँग कार्यान्वयनका लागि समन्वय गर्नु पर्दछ । स्थानिय र प्रदेश सरकारले ओनरसिप लिनु पर्दछ । यो हाम्रो हो, यसको विकास हामीले गर्नु पर्दछ भन्ने दृढ संकल्प लिनुपर्दछ।
केन्द्र प्रदेश र स्थानिय सरकारलाई जोड्ने सेतु अर्थात ऐनको विकास गर्नु पर्दछ । नियम निर्माण हुनु पर्दछ । र, सबैले आ–आफ्नो तहबाट कार्यान्वयन गर्नु पर्दछ । जहाँसम्म नेतृत्वको प्रश्न छ, त्यहाँ अन्तर्राष्ट्रिय नियम अनुसार हुनु पर्दछ । राष्ट्रिय वा प्रदेशस्तरीय वा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई नेतृत्वमा अगाडि लगाउनु पर्दछ।
किनकी उनीहरुले मात्र खेल र खेलाडीको मर्म बुझेका हुन्छन्। नयाँ युगको चाहना छ हामीलाई । नयाँ जीवन बाँच्नु छ हामीले खेलकुदमा । तसर्थ हामी नयाँ सोचका साथ अब अगाडि बढौं।





