खुल्ला वडा स्तरीय पुरुष भलिबलको उपाधि काभ्रेको खानिखोला-६ सालधारालाई

काठमाडौं । ललितपुर जिल्ला महांकाल गाउँपालिका–६ ठुलादुर्लुङ्ग हुचिटार युवा क्लबद्वारा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता चार दिनसम्म सञ्चालन भई सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम बागमती प्रदेशका पूर्व खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

समारोहमा बोल्दै पूर्व मन्त्री महर्जनले आफ्नो कार्यकालमा सिमित बजेटका बाबजुद कुनै पनि वडालाई नछुटाई आवश्यकता अनुसार बजेट वितरण गरिएको बताएका थिए। उनले विशेष गरी गोदावरी नगरपालिका-११ टाहाखेलमा निर्माणाधीन ‘गोदावरी स्मार्ट स्पोर्ट्स सिटी’ रंगशालाका लागि रु. ९ करोड बजेट विनियोजन गरिएको, चापागाउँमा कभर्डहल निर्माण, बागमती गाउँपालिका–४ प्युटारमा मिनी रंगशाला निर्माण तथा महांकाल गाउँपालिका गोटिखेलमा कभर्डहल निर्माणलगायतका योजना अघि बढाइएको जानकारी दिए। साथै उनले रु. ४० करोड बराबरको बहुवर्षीय टेन्डर प्रक्रिया समेत अगाडि बढिसकेको उल्लेख गरे।

पूर्व मन्त्री महर्जनले गत आर्थिक वर्षमा बागमती प्रदेशको खेलकुद मन्त्रालयलाई जम्मा रु. १ अर्ब ६ करोड बजेट विनियोजन भए पनि आफ्नो कार्यकालमा बागमती प्रदेश नै खेलकुदमय बनेको तथा त्यसले केन्द्र सरकारको खेलकुद मन्त्रालयलाई समेत छायामा पार्ने गरी गतिविधि सञ्चालन भएको दाबी गरे।

२० टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै काभ्रेको खानिखोला-६ सालधाराले पहिलो स्थान हासिल गर्दै रु.५१ हजार नगद पुरस्कार प्राप्त गरेको छ।

ललितपुरको महांकाल-६ हुचिटारले दोस्रो हुँदै रु. ३० हजार प्राप्त गर्दा समान प्रदर्शन गर्दै संयुक्त रुपमा तेस्रो भएको ललितपुर महांकाल-४ कालेश्वर र काभ्रे महाभारतले समान रु. १५ हजार पुरस्कार हात पारेको आयोजकले जनाएको छ।

समापन कार्यक्रम ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाल, महांकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोले, नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङ, वडा अध्यक्षहरू तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :