पोस्ट म्याच रिपोर्टिङ : खेलाडी, प्रशिक्षक र टिम सुधारको प्रभावकारी माध्यम 

रमेश खनाल (खेलकुद मनोविज्ञ)

पोस्ट म्याच रिपोर्टिङ खेलकुदमा एकदम आवश्यक हुन्छ। जसको माध्यमबाट खेलको विकास गर्न ठूलो आधार तयार हुन्छ। तर हामीकहाँ पोस्ट म्याच रिपोर्टिङलाई त्यत्ति महत्व दिइँदैन। खेल्यो, हान्यो अनि फर्कियो । हार्दा के कारणले हारियो, टिममा के कमि-कमजोरी भयो, कुन पक्षमा सुधार गर्नुपर्छ- के यो जान्नुपर्ने कुरा होइन? यदि हो भने राष्ट्रिय खेलकूद परिषद् र राष्ट्रिय संघहरूले पोस्ट म्याच रिपोर्टिङको प्रथा सुरु नगर्ने हो?

पोस्ट म्याच अर्थात् पोस्ट प्रोग्राम रिपोर्टिङको संदर्भमा मेरो राम्रो अनुभव छ। झण्डै १५ वर्ष अगाडि मलाई भुटानी शरणार्थी क्याम्पमा काम गर्ने मौका मिलेको थियो। मसँग भलिबल, ब्याडमिन्टन र एथलेटिक्सका चार जना प्रशिक्षकहरू पनि थिए। मैले उनीहरूको समन्वय गर्थें। शरणार्थी क्याम्प बेलडाँगी, दमक, शनिश्चरेका विद्यालयहरूमा खेलकुदका विभिन्न कार्यक्रम बनाएर संयुक्त राष्ट्र संघ शरणार्थी उच्चायोग (यूएनएचसिआर)

मा पठाउनुपर्ने हुन्थ्यो। हाम्रा प्रशिक्षकहरूले विद्यालयसँग समन्वय गरेर खेलका कार्यक्रम बनाउँथ्यो र सोही अनुसार खेलपछि पुनः विद्यालयका शिक्षकसँग समन्वय गरेर खोलाउँथ्यो। यूएनएचसिआरलाई रिपोर्ट लेखेर पठाउनु पर्ने हुन्थ्यो। रिपोर्टमा कमी-कमजोरी लेख्नु पर्ने र त्यसको निराकरणका उपायहरू पनि उल्लेख गर्नुपर्ने हुन्थ्यो।

हामीले पढाएका विद्यार्थीहरूलाई २-३ दिनपछि यूएनएचसिआरले फिल्डमा पुगेर मूल्यांकन गर्थ्यो। हाम्रो रिपोर्टलाई आधार मानेर यूएनएचसिआर हेड अफिसले कमी-कमजोरी पूरा गर्न आर्थिक सहयोग गर्थ्यो। कहिलेकाहीँ हेड अफिसका प्रतिनिधि आएर हामीसँग र विद्यालयसँग दुवै छलफल गर्थे। पोस्ट म्याच रिपोर्टिङ सिस्टमलाई युएन लगायत यूएनएचसिआरले ठूलो महत्व दिएको छ। खेल मात्र होइन, यूएन पिस कोरको पनि त्यस्तै रिपोर्टिङ प्रणाली चल्छ। रिपोर्टिङ प्रणाली जान्ने र नजान्ने बीच फरक स्पष्ट देखिन्थ्यो।

पोस्ट म्याच रिपोर्टिङ सिस्टम खासगरी फुटबल खेलमा भएका त्रुटिहरू सच्याउन अत्यन्त उपयोगी हुन्छ। यो रिपोर्ट खेलाडीसँग पनि माग्नु पर्छ, प्रशिक्षक र व्यवस्थापकसँग पनि माग्नुपर्छ। खेलाडीको दृष्टिकोण थाहा हुन्छ, अन्यथा प्रशिक्षकको अगाडि सबैले खुला रूपमा बोल्न चाहँदैनन्। त्यसैले खेलाडीसँग बेग्लै रिपोर्ट माग्नु पर्छ। यदि उनीहरूले लेखेर दिन चाहँदैनन् भने मौखिक भेटवार्तामार्फत विचार संकलन गर्नुपर्छ। फुटबलमा पोस्ट म्याच रिपोर्ट अनिवार्यजस्तै हुन्छ। कहिलेकाहीँ समूहगत बैठक गरेर पनि विचारहरू संकलन गर्न सकिन्छ।

त्यसर्थ-खेल्यो, हार्यो, चुपचाप भयो । यसले खेलको विकास कहिल्यै हुँदैन। विकास चाहिँदैन भने केही भन्नु र गर्नु परेन। तर, विकास गर्ने हो भने पोस्ट म्याच रिपोर्टिङ प्रणाली राष्ट्रिय खेलकूद परिषद्ले कडाइका साथ लागू गर्नु अपरिहार्य छ। यसकै माध्यममा खेल तथा खेलाडीको वास्तविक हित हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :