खेलकुदमा धेरै ठाउँमा मनोवैज्ञानिक युद्ध हुन्छ। यो युद्ध जानिजानी रचिनुपर्छ, खासगरी दुई ठूला टिमहरू मैदानमा भिड्नुअघि। मनोवैज्ञानिक दबाब सिर्जना गरेर विपक्षीलाई कमजोर बनाउने प्रयासलाई नै मनोवैज्ञानिक युद्ध भनिन्छ।
यसै युद्धको एउटा चर्चित घटना आज पनि स्मरण गरिन्छ । कुरा हो सन् १९८८ को शीतकालीन ओलम्पिकको । त्यस समयमा पूर्वी जर्मनीले खेलकुदमा ठूलो प्रगति गरेको थियो।
तिनीहरूका टिममा काम गर्ने टीम साइकोलोजिस्ट पनि हुन्थे । जसले खेलाडीलाई मनोवैज्ञानिक युद्धकला सिकाउँथे । फिगर स्केटिङ–लेडीज सिङ्गल्स प्रतियोगिता हुनु केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा क्याटारिना वितलाई बोल्न सिकाइएको थियो।
उनले यसअघि १९८४ को शीतकालीन ओलम्पिकमा स्वर्ण पदक जितिसकेकी थिइन्। यसपटक क्याल्गेरीमा आयोजना हुने फिगर स्केटिङमा पनि उनलाई प्रमुख दाबेदार मानिएको थियो।
पत्रकार सम्मेलनमा उनले भनेकी थिइन्, ‘मैले १९८६ को बुडापेस्ट विन्टर वर्ल्ड च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिएँ। त्यसअघिको प्रतियोगितामा पनि म पहिलो भएकी थिएँ। त्यसैले यो पटक पनि म फिगर स्केटिङमा स्वर्ण पदक जित्नेछु।’
अर्की प्रतिस्पर्धी थिइन् डेबी थोमस, अमेरिका बाट। उनी क्याटारिनाकी कडा प्रतिद्वन्द्वी मानिन्थिन् र स्वर्ण जित्ने मुख्य आशावादी थिइन् । प्रतियोगिता शुरु भयो। अमेरिकी र पूर्वी जर्मनीका समर्थकहरू जोसकसले चिच्याइरहेका थिए।
पहिले क्याटारिनाले उत्कृष्ट प्रदर्शन गरिन् । त्यसपछि अमेरिकी खेलाडी डेबी थोमस स्केटिङ गर्दै गर्दा एक पटक सन्तुलन गुमाएर लडिन्, अनि फेरि उठेर प्रदर्शन जारी राखिन्।
नतिजा सार्वजनिक हुँदा पूर्वी जर्मनीकी क्याटारिना वित पहिलो भइन् र दोस्रोपटक स्वर्ण पदक जितिन् । अमेरिकी खेलाडी डेबी थोमस तेस्रो भइन्। प्रतियोगिता पछि पत्रकारहरूले डेबी थोमसलाइ सोधे- ‘तपाईं किन लड्नु भयो?’
उनले जवाफ दिइन्, ‘क्याटारिनाले अत्यन्तै उत्कृष्ट प्रदर्शन गरिन्। उनले पत्रकार सम्मेलनमै ‘म तयारीसहित आएको हुँ, म नै जित्छु’ भन्दै मनोवैज्ञानिक दबाब सिर्जना गरिन्। त्यो दबाब प्रतियोगितादेखि नै मेरो मनमा बसिसकेको थियो। स्केटिङकै बीचमा त्यही कुरा सम्झँदा मैले सन्तुलन गुमाएँ अनि लडें। त्यो सबै प्रि-म्याच प्रेस कन्फरेन्सको मनोवैज्ञानिक प्रभाव थियो।’
त्यसैले हामीकहाँ पनि फुटबल लगायत अन्य खेलमा प्रेस कन्फरेन्स हुन्छ। त्यो पनि एउटा प्रकारको मनोवैज्ञानिक दबाब नै हो। तर, प्रेस कन्फरेन्समा के बोल्ने, कसरी बोल्ने भन्ने कुराको अभ्यास (रिहर्सल) आवश्यक हुन्छ।
अन्यथा उल्टै कमजोरी मात्र प्रकट हुन्छ र मनोवैज्ञानिक प्रभाव पार्न सकिँदैन । अझ कडा प्रतिस्पर्धीविरुद्ध खेल्नु परेको छ भने मनोवैज्ञानिक युद्ध प्रभावकारी रूपमा प्रयोग गर्नैपर्छ।





