२०७८ मंसिर १३ गते राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङको चार वर्षे कार्यकाल आज (शुक्रबार) बाट सकिदैछ । सदस्य सचिवको नियुक्तिसँगै गम्भिर चुनौंतिको समाना गरेका घिसिङलाई पहिलो गासमा ठूलो ढुङ्गा लागेको थियो । करिब चार महिनापछि न्यायालयको आदेशमा खेलकुद फर्किएका घिसिङले त्यसपछि पनि विभिन्न चुनौंतिको समाना गर्नुपर्यो। त्यसबेला उनलाई ‘बालक’ सदस्य सचिवको संज्ञा दिएर गिज्याउने कार्य समेत गरियो । त्यस्तो परिप्रेक्षमा घिसिङको लागि सदस्य सचिवको जिम्मेवारी आफैमा चुनौंतिपूर्ण मात्र नभई महाभारतको लडाई जस्तै बन्न पुगेको थियो । जहाँ केहि गरेर देखाउने प्रतिवद्धता जाहेर गरेर मात्रै हुदैनथ्यो, प्रतिवद्धतामा खरो उत्रिएर देखाउनुपर्ने बाध्यता समेत थियो । समयको सुई घुम्दै गयो, घिसिङले पनि खेलकुदलाई निकै नजिकबाट बुझ्दै गए। त्यसपछि निकै दुरदर्शी रणनितिका साथ समग्र खेलकुदको विकासमा आफ्नो पासा फ्याँके । जसमा ‘बालक’ सदस्य सचिवले एकपछि अर्को गर्दै ‘बुढो अठार’ हान्दै खेलकुदमा ऐतिहासिक कीर्तिमान नै बनाई दिए । जुन खेलकुदको इतिहास सदा अविष्मणिय बनेर रहने छ।
घिसिङले राखेपको सदस्यसचिवको जिम्मेवारी सम्हाल्दा खेलकुद हरेक कोणबाट अस्तव्यस्त र थलालिङ्ग देखिन्थ्यो । खेलकुदका प्राय सबै निकाय, तह र तप्कामा विवादले जरा गाडेर झाङ्गिएको अवस्था थियो । यस्तो, अवस्थामा खेलकुदलाई सहि दिशामा ल्याउनु र मार्ग दर्शन गर्नु चानचुने कुरा थिएन अर्थात् फलामको चिउरा चपाउनु जस्तै थियो । जसको निरुपणका लागि दुरदर्शी योजना र रणनीतिको जति आवश्यकता थियो त्यति नै मनोवैज्ञानिक रुपमा तयार हुनु आवश्यक थियो । खेलकुदमा तिब्ररुपमा उठ्दै गएका राजनीतिक कम्पनलाई निस्तेज पार्न भगवानको भरोसामा राम राम भन्दै आगोमा हाम फाल्न सक्ने अवस्था थिएन । बडो सुझबुझका साथ दुरदर्शी भएर ‘लठ्ठी पनि नभाँचिने, सर्प पनि मर्ने’ रणनीतिको अख्तियार गर्दा नै खेलकुदको मानक भेट्टाउन सकिन्थ्यो । घिसिङले पनि त्यस्तै गरे, खेलकुदमा आमुल परिवर्तनको आवश्यकतालाई मियो बनाउँदै आर्थिक, प्रशासनिक र व्यवहारिक रुपमा आफुलाई अब्बल सावित गरे । जसले नेपाली खेलकुदलाई ऐतिहासिक सफलता मात्र दिलाएन, नेपाली खेलकुद २१ औं शताब्दीमा भएको अनुभुति समेत गरायो । यसको लागि घिसिङ साधुवादका पात्र समेत बनेका छन्।
खेलकुदमा मौलाएको राजनीति र भागबण्डाले हिजो पनि खेलकुदमा काम गर्न सजिलो थिएन भने अहिले पनि छैन । अझ राजनीतिले गाँजेका राष्ट्रिय खेल संघहरुलाई चलाउनु भनेको दुःस्साहस गरेर अरिङ्गालको गोलोमा ढुङ्गा हान्नु सरह थियो । यस्तो विषम परिस्थितिका बाबजुद पनि घिसिङले आँट र शाहस देखाउँदै खेलकुदमा कमाई खाने भाँडो बनाएर खोलिएका राष्ट्रिय संघमाथि अंकुस लगाउन कुनै कसर बाँकि राखेनन् । परिणाम, राखेपमा २०० भन्दा बढीको संख्यामा दर्ता भएका खेल संघ ६२ मा झरे । जुन आफैमा ठूलो उपलब्धि थियो । यो उपलब्धि पूर्व राखेपका सदस्य सचिवहरुको लागि ठूलो पाठ बन्यो । यसर्थमा कि उनीहरुकै पालामा अनायासमै यस्ता निकम्मा राष्ट्रिय संघलाई परिषदमा दर्ता गराइएको थियो । जसले ऐँझेरुको कार्य गर्दै खेलकुदलाई सिध्याउने कार्य गर्दै आएका थिए। यसरी ट्रेलरको रुपमा यी ऐँझेरुलाई काट्दै घिसिङले खेलकुदलाई हराभरा बनाउन अहम भूमिका निभाए, जुन आफै प्रशंसायोग्य थियो।
घिसिङले आफ्नो कार्यकालको शुभारम्भमा नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताका साथ आयोजना गरेर आफ्नो उपस्थितिलाई दमदार बनाए । घिसिङले आफ्नो चार वर्षे कार्यकालमा खेलकुदको विकासमा विभिन्न सकारात्मक कार्य गरेका छन् । त्यसको फेहरिस्त निकै लामो छ । त्यसैले यहाँ उनले गरेका ऐतिहासिक कार्य र पाएको ऐतिहासिक सफलताको बारेमा चर्चा गर्नु नै उपयुक्त हुनेछ । १९ औं एशियाली खेलकुदमा कराते र कबड्डी खेलतर्फ नेपालले जितेको ऐतिहासिक रजत र कास्य पदकमा घिसिङको विशेष योगदान र भूमिका रहेको छ । यदि उनले समयमै एशियाडको लागि प्रशिक्षण शुरु नगरेको भए त्यो ऐतिहासिक उपलब्धि कदापी सम्भव हुने थिएन । त्यस्तै, पारालम्पिकमा तेक्वान्दो खेलतर्फ नेपाल जितेको कास्य नेपालका लागि पहिलो ओलम्पिक पदक बन्न पुग्यो । यसअघि आधिकारिक रुपमा कुनैपनि खेलका खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन् । जसलाई घिसिङले अख्तियार गरेको रणनीतिको प्रतिफल हो भन्दा अतिसयोक्ति नहोला । यो बाहेक घिसिङले सातदोबाटोमा हाई परफरमेन्स ट्रेनिङ सेन्टर स्थापना गरेर खेलकुदको विकासमा चार चाँद लगाउने कार्य गरे । जसको बारेमा मुलुकका प्रधानमन्त्रीदेखि खेलाडी र प्रशिक्षकहरुले समेत सकारात्मक प्रतिक्रिया दिएका थिए । यस्तै, लामो समयदेखि बढुवा हुन नसकेका राखेपका कर्मचारीहरुको बढुवा गर्नमा घिसिङले निभाएको भूमिका तारिफ योग्य रह्यो । यसरी व्यवस्थापन पक्षमा निकै कुशल देखिएका घिसिङले आफ्नो चार वर्षे कार्यकाललाई सफल बनाउन कुनै पनि कोणबाट कमजोर देखिएनन् । यसरी समग्रमा भन्नुपर्दा घिसिङको चार वर्षे कार्यकाल सफल रह्यो, यसमा दुईमत छैन।
खेलकुदमा कार्यगत निपूर्णता र सफलताको आधारमा विश्लेषण गर्ने हो भने घिसिङको चार वर्षे कार्यकाललाई निकै सफल मान्न सकिन्छ । मान्छे हुन्, यो अवधिमा घिसिङबाट केही कमि कमजोरी भएकै होला । घिसिङ पनि कहि राजनीतिक दबाव र व्यक्तिगत कार्यशैलीका कारण चिप्लिएका होलान् त्यसलाई नजर अन्दाज कदापी गर्न सकिदैन । तसर्थ समष्टिगत रुपमा भन्नुपर्दा अर्थात् सकारात्मक र नकारात्मकको चर्चा गर्दा उनी केहि कुरामा चुके पनि धेरै कुरामा सफल भएका छन् । त्यो कुरालाई नेपालले राष्ट्रियस्तरमा भएका खेलकुदका गतिविधि र अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले पनि प्रमाणित गर्छ । एउटै बाक्यमा भन्नुपर्दा घिसिङले आफ्नो चार वर्षे कार्यकालमा खेलकुदमा राम्रो कार्य गरेका छन्। जय होस्।





