खेलकूदमा गर्नुपर्ने थुप्रै कुराहरू छन्। उदाहरणका लागि, खेलकूदलाई आय-आर्जनको माध्यम बनाउनुपर्ने हुँदा व्यक्तिगत सम्बन्धको आधारमा केही विद्यालयले प्रशिक्षकलाई ज्यालादारीमा खेल खेलाउन राखेका छन्, जसलाई सजिलैसँग हटाउन सकिन्छ। अत: अहिलेसम्म स्कूलमा अनिवार्य विषय नभएकाले प्रशिक्षक ज्यालादारीको अथवा केही विद्यालयका लागि व्यवसाय नै बनेको छ। खेलकूद संचालन गर्ने एउटा माध्यम पनि यही भएको छ। विद्यालयमा खेलकूद खेलाउन विद्यार्थीमा मन नहोला भनेर अनेक तड़क भड़कका साथ जनतालाई भ्रममा पारिँदै आएको छ।
सायद थोरै विद्यालय होलान् जसको भौतिक पूर्वाधार राम्रो बनेका छन्। जसका भौतिक पूर्वाधार खेलसँग सम्बन्धित हुन्छन्, ती खेलकूदका सामग्री वर्षमा एकपटक मात्र वार्षिक उत्सवका अवसरमा निकालिन्छन्। विद्यालयमा भएका भौतिक सामग्री प्रयोगमा नआउँदा वेथित अवस्थामा छन्। विद्यालयमा खेलकूदका लागि लगानी लाग्दछ, तर किन खेलकूदलाई अनिवार्य विषय बनाउन सकिएको छैन होला? यदि मुलुकमा सरकारले खेलकूद नीति बनाएर त्यसलाई व्यवहारमा ल्यायो भने विद्यालयमा खेलकूदका लागि आवश्यक सबै किसिमका भौतिक पूर्वाधार निर्माण हुनेछन्।
हाईस्कूल स्पोर्ट्स भनेपछि खेलाडी उत्पादन गर्ने ठूलो थलो हुन्छ। शीतकालीन ओलम्पिकका कतिपय स्वर्ण पदकधारीले समेत हाइस्कूल स्पोर्ट्सलाई उच्च प्राथमिकतामा राखेका हुन्छन्। यसले सबैलाई खेलकूदमैत्री स्पोर्ट्स स्टेडियम, एथलेटिक ट्रयाक, इनडोर हल, पौडी पोखरी आदि निर्माण गर्न प्रेरणा दिनुपर्छ। यदि हामीले ठूला विद्यालयहरूमा स्पोर्ट्स इन्फ्रास्ट्रक्चर निर्माण गर्न सक्यौँ भने कैयौँ क्षेत्रीय, प्रादेशिक तथा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्छौँ।
ठूला–ठूला स्पोर्ट्स इन्फ्रास्ट्रक्चर निर्माण तीन–चार वटा हाईस्कूल मिलेर संयुक्त रूपमा गर्न सकिन्छ, अथवा ठूला करपोरेट हाउससँग सहकार्य गरेर, अथवा सरकारले वैदेशिक सहायता लिएर पनि निर्माण गर्न सकिन्छ। कोही व्यक्तिले आफ्ना पिता–माताको स्मृतिमा निर्माण गर्न चाह्यो भने पनि प्रेरित गर्न सकिन्छ। हाईस्कूलले अनिवार्य स्तरका केही भौतिक पूर्वाधार निर्माण गर्नै पर्दछ। यस्तै अनिवार्य पूर्वाधार आधारभूत तथा माध्यमिक विद्यालयमा पनि निर्माण हुनुपर्छ। त्यसैले सरकारले राष्ट्रिय स्तरको विद्यालय खेलकूद नीति व्यापक छलफल गरेर निर्माण गर्न पाए मात्र उपयुक्त हुन्छ। यसरी बनेको खेलकूद नीतिलाई सबै विद्यालय तथा हाईस्कूलले अनिवार्य रूपमा पालना गर्नुपर्छ। यसैमा सबैको भलो हुन्छ।





