राष्ट्रिय लगत्तै ए डिभिजन लिग गर्ने सहमति, १२ बुँदे निर्णय गर्दै सकियो एन्फाको आपतकालीन बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालीन बैठक सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले देशभर फुटबल पूर्वाधार विस्तार, प्रतियोगिताको प्रभावकारी व्यवस्थापन तथा महिला र पुरुष फुटबल विकासका विषयमा महत्वपूर्ण १२ बुँदे निर्णयमा सहमति गरेको एन्फाले जनाएको छ।

बैठकको मुख्य विषयमा रहेको ए डिभिजन लिग र राष्ट्रिय लिग आयोजना गर्ने बारेमा पनि सहमति जुटेको एन्फाले जनाएको छ । बैठकले आगामी पौष २५ गतेदेखि शुरु हुने भनिएको राष्ट्रिय लिगका लागि एन्फा विधान अनुसारका क्लबहरू तथा इच्छुक सबै ए डिभिजन क्लबका लागि टिम दर्ता खुला गर्ने निर्णय गरेको छ।

यस्तै, राष्ट्रिय लिग सकिएको एक महिनाभित्र ए डिभिजन लिग शुरु गर्ने तथा दुवै लिगका मार्केटिङ, टिकेटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारका लागि बोलपत्र आह्वान गरिने निर्णय भएको छ। राष्ट्रिय लिगका लागि सात दिने र ए डिभिजन लिगका लागि १५ दिने सूचना प्रकाशित गरिनेछ।

पूर्वाधार विकासतर्फ, फिफा फरवार्ड कार्यक्रम अन्तर्गत धुलिखेल र धनगढीमा नयाँ कृत्रिम घाँसे मैदान निर्माण गर्ने तथा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको पुरानो कृत्रिम घाँसे मैदान परिवर्तन गर्न फिफाद्वारा सिफारिस गरिएको कम्पनी इडेल ग्रासलाई प्रस्ताव पेस गर्ने निर्णय भएको छ । त्यस्तै, इक्वेल पिच कार्यक्रममार्फत दशरथ रंगशालामा आधुनिक हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव पेश गर्ने तयारी समेत बैठकले गरेको छ।

एएफसीको इन्ह्यान्स कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकमा खेलाडी ड्रेसिङ रुम, ट्वाइलेट, अफिस तथा माथिल्लो प्यारापिट निर्माणका लागि जगदम्बा मोक्तान जेभीलाई १ करोड २६ लाख ४८ हजार ८ सय १५ रुपैयाँ लागतमा जिम्मा दिने निर्णय गरिएको छ। साथै सोही कार्यक्रम अन्तर्गत एक सटल बस र लगेज भ्यान खरिद गरिनेछ।

यसैगरी, राष्ट्रिय फुटबल टोलीको पोसाक तथा खेल सामग्री खरिदसम्बन्धी सम्झौता अक्टोबर २१, २०२६ सम्म एक वर्षका लागि थप गरिने र त्यसपछि नयाँ बोलपत्र आह्वान गरिने निर्णय भएको छ।

एन्फाले आफ्नै पहलमा सञ्चालन भैरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू फिफाको ओटीटी प्लाटफर्ममार्फत प्रसारण गर्न फिफासँग सहकार्य गर्ने निर्णय पनि गरेको छ। फिफाको सीएओ मा संशोधन गरी शहीद स्मारक ए डिभिजन लिगलाई समावेश गर्ने सहमति पनि बैठकले गरेको छ।

साथै महिला फुटबलतर्फ, यसै फागुनमा पोखरामा साफ महिला यू-१९ फुटबल प्रतियोगिता आयोजना गर्ने र चाँडै नै महिला फ्रेन्चाइज फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको छ। राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता उदयपुरमा गर्ने र शहीद स्मारक महिला राष्ट्रिय लिगका लागि झापा, मोरङ, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरी खेलस्थल तोकिने जनाइएको छ।

त्यसैगरी, आगामी जनवरीमा थाइल्यान्डमा हुने साफ पुरुष तथा महिला फुटसल प्रतियोगिताका लागि कुल १ करोड ४५ लाख १२ हजार ६ सय ९० रुपौयाँ बजेट लाग्ने अनुमान गरिएको छ । यस प्रतियोगितालाई लक्षित गरि एन्फाले हरेक टिमका लागि ७२ लाख ५६ हजार ३ सय ४५ रुपैयाँ बजेट स्वीकृत गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :