काठमाडौं । इन्डोनेसियामा जारी त्रीदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत मंगलबार हुने खेलमा नेपाली राष्ट्रिय महिला टोली चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ । इन्डोनेसियाको योग्याकार्तास्थित मागुवोहर्जो रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ६:१५ बजे शुरु हुनेछ।
नेपाली राष्ट्रिय महिला टोलीले चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको यो पहिलो पटक हो । फिफा वरियतामा नेपालभन्दा ४५ स्थान अगाडि रहेको चाइनिज ताइपेईले यसै मैत्रीपूर्ण अन्तर्गतको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इन्डोनेसियालाई ५-० ले पराजित गरिसकेको छ।
यता, नेपाल भने पहिलो खेलमा आफूभन्दा कमजोर मानिएको इन्डोनेसियासँग २-१ को हार व्यहोर्न बाध्य भएको थियो । अब उपाधि जित्न चाइनिज ताइपेईलाई नेपालविरुद्धको आजको खेलमा बराबरी नै पर्याप्त हुने अवस्था छ।
नेपाल यसपटक महत्वपूर्ण खेलाडीहरू बिना मैदानमा उत्रिएको छ। स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण इन्डोनेसिया गएको टोलीमा समावेश छैनन् भने भने मिडफिल्डर सवीता रानामगर पनि इन्जुरीले प्रभावित छिन्।
चोटसहित टोलीसँग इन्डोनेसिया पुगेकी सवीताले चाइनिज ताइपेईविरुद्धको खेल पनि गुमाउने मुख्य प्रशिक्षक नवीन न्यौपानेले जनाइसकेका छन्। यस्तोमा, नेपाली टोलीले आजको खेलमा सुधारिएको प्रदर्शन गर्न कस्तो रणनीति अपनाउला त्यो भने हेर्न बाँकी छ।




