चितवनलाई ६ विकेटले हराउँदै जनकपुरको पहिलो जित

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्स जारी दोस्रो संस्करणको (एनपीएल) को पाँचौं खेलमा आएर पहिलो जित हासिल गर्न सफल भएको छ । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले पहिलो जित निकालेको हो।

जितका लागि चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभमार ४ विकेट गुमाउँदै १८० रन बनाएर पूरा गर्यो । जनकपुरका लागि अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशकीय योगदान दिए।

पाकिस्तानी युवा अलराउण्डर माजले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ७३, अनिलले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१, आसिफ शेखले १८ तथा आदित्य महतले अविजित १८ रन जोडे।

बलिङमा चितवनका लागि सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो।

चितवनका लागि ओपनर डाविड मालानले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८०, अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ तथा कप्तान कुशल मल्लले १४ बलमा अविजित ३० रन जोडेका थिए । जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले समान १-१ विकेट लिएका थिए।

पहिलो जितसँगै ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको जनकपुरले प्लेअफको झिनो सम्भावना कायम राखेको छ । यता पाँचौं खेलमा तेस्रो हार व्यहोरेको ४ अंकसहित चितवन चौथो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :