काठमाडौं । कर्णाली याक्स जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरणबाट बाहिरीने पहिलो टोली बनेको छ ।कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णाली जारी सिजनको लिग चरणबाटै बाहिरीने पक्का भएको हो।
जितका लागि पोखरा एभेन्जर्सले दिएको २०२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा अलआउट हुँदै १६७ रनमा समेटियो ।कर्णालीका लागि ओपनर मार्क वाटले ३४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रनको अर्धशतीय योगदान दिएपनि जितका लागि पर्याप्त भएन।
यस्तै, नजिबुल्लाह जाड्रनले १५ बलमा २ चौका र १ छक्कासहित २४, पवन सराफले १४ बलमा समान १ चौका र छक्कासहित १९ तथा प्रियांक पञ्चालले १६ रन जोडे । पोखराका लागि धनन्जय लक्ष र ऋषि धवनले समान ३ तथा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको थियो। एनपीएलको दोस्रो संस्करणमा २०० रन पूरा भएको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो।

पोखराका लागि ओपनर एडम रोसिङटनले उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै अविजित १०८ रनको शतकीय योगदान दिएका थिए।
यस्तै, जेसन रोयले ३४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४६, धनञ्जय लक्ष्मणले ११ बलका २३ र कप्तान कुशल भुर्तेलले १७ बलमा १८ रन जोडेका थिए । कर्णालीका लागि नन्दन यादव र मार्क वाटले १-१ विकेट लिएका थिए।
कर्णालीको यो पाँचौं हार हो । लिग चरणको एक खेल अगावै बाहिरीएको कर्णाली आजको हारपछि ६ खेलमा २ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ।
यता दोस्रो जितसँगै ५ खेलबाट ४ अंक जोडेको पोखरा भने तालिकाको चौथो स्थानमा उक्लिएको छ । अब लिग चरणमा दुई खेल खेल्न बाँकी रहेको पोखराको प्लेअफमा पुग्ने सम्भावना कायम छ।
तस्बिरः एनपीएल




