एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल पहिलो

काठमाडौं । एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपको काठमाडौं उपत्यकाव्यापी छनोटमा भक्तपुर मोडर्न इंग्लस सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ । उसले पुरानो गुहेश्वरी सेकेन्डरी स्कुललाई ५६-५० ले पराजित गर्दै सफलता हात पारेको हो।

मिड भ्याली सेकेन्डरी स्कुल, थिमिमा आयोजित दुई दिने छनोट प्रतियोगितामा पहिलो स्थान सुरिक्षत गरेसँगै भक्तपुर मोडर्नले एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपमा स्थान पनि पक्का गरेको छ।

आठ स्कुलले प्रतिस्पर्धा गरेको प्रतियोगिताको पहिलो खेलमा मोडर्नले काठमाडौं इन्टरनेसनल स्कुललाई ६९-१२ ले एकतर्फी रुपमा हराएको थियो भने सेमिफाइनलमा पनि पवन प्रकृति स्कुलमाथि ६१-२० को सहज जित हात पारेको थियो।

पुरानो गुहेश्वरीले पहिलो खेलमा सेक्रिड हार्ट सेकेन्डरी स्कुललाई ५६-१९ र सेमिफाइनलमा भीमेश्वर एकेडेमीलाई ६२-६० ले पन्छाएको थियो । काठमाडौं इन्टरनेसनल, सेक्रिड हार्टसँगै मिड भ्याली र श्री लुभू सेकेन्डरी स्कुल पहिलो खेलमा बेहोरेको हारसँगै छनोटबाट बाहिरिएका थिए।

पवन प्रकृति र भीमेश्वर पनि अन्तिम चारभन्दा माथि उक्लिन सकेनन् । छनोटमा पुरानो गुहेश्वरीका जुम्ल्याह राम रानामगर र लक्ष्मण रानामगरले बेस्ट रेइडर र बेस्ट डिफेन्डरको अवार्ड प्राप्त गरे।

केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले देशमा कबड्डी खेलाडी उत्पादन र विकास गर्ने उद्देष्यले आयोजित एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपमा काठमाडौं उपत्यासँगै क्षेत्रीय स्तरमा पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा हुने छनोटका विजेता गरी कुल ६ टिमले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।

च्याम्पियनसिप एनकेएल सिजन २ कै अवसरमा सञ्चालन गरिने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ । एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो।

यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । ग्रासरुटबाट उत्पादित खेलाडी नै व्यावसायिक लिगको लागि तयार हुने विश्वास गरिएको छ।

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :