काठमाडौं । आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। ५४ के.जी. तौल समूहका चन्द्र थापा मगरले इरानी प्रतिस्पर्धीलाई एकमत निर्णयमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन्।
यससँगै उनले कम्तीमा कास्य पदकसहित ७५ हजार अमेरिकी डलर पुरस्कार रकम सुनिश्चित गरेका छन्। यसअघि थापाले इन्डोनेसिया र आर्मेनियाका खेलाडीलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका थिए।
अब सेमिफाइनलमा उनी काजाकस्तानका बक्सरसँग भिड्नेछन्। सेमिफाइनल जिते उनको पुरस्कार रकम १, लाख ५० हजार अमेरिकी डलरसम्म पुग्नेछ।

जसले नेपाली बक्सिङ इतिहासमा नयाँ उचाइ थप्नेछ । यस्तै, ४८ केजी तौल समूहमा खेलिरहेका नेपालका अर्का खेलाडी लाल बहादुर उप्रेतीयले पनि प्रभावशाली प्रदर्शन गरे।
इथोपिया र माल्दोभाका प्रतिस्पर्धीलाई पराजित गर्दै उनी क्वाटरफाइनल पुगेका थिए । यद्यपि, काजाकस्तानका बक्सरसँग पराजित भएपछि उनी प्रतियोगिताबाट बाहिरिनु पर्यो।
उनले १० हजार अमेरिकी डलर पुरस्कार रकम हात पारेका छन् । दुबै खेलाडीको जुझारू प्रदर्शनले अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा नेपालको प्रतिष्ठा झनै बलियो बनाएको छ।




