धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्थानीय तहस्तरमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसहित ७ औं राष्ट्रपति रनिङ शिल्डसहितका विभिन्न प्रतियोगिता आयोजना गर्ने भएको छ।
गाउँ शिक्षा समिति तथा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार कार्यक्रम सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ।
आयोजना अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासँगै मजदुर शहीद स्मृति कप बृहत् खेलकुद, मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता समावेश गरिएका छन्। यी सबै प्रतियोगिताको औपचारिक उद्घाटन पौष ३० गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोजक समितिले जानकारी दिएको छ।
उद्घाटन समारोहका क्रममा सहभागी विद्यालयहरूले मार्चपास तथा र्याली प्रस्तुत गर्नेछन्। यसले खेलकुदसँगै अनुशासन, एकता र सामूहिक सहभागिताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले खेलकुदलाई प्रवर्द्धन गर्नसके यसले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक ऊर्जातर्फ डोहोर्याउने बताएका छन्। यस्तै, बेनीघाट रोराङलाई धादिङमा खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उनको भनाइ छ।

त्यस्तै, गाउँपालिका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य स्थानीयस्तरमा खेलकुद विकास गर्नु, लुकेका प्रतिभाको पहिचान गर्नु तथा युवाहरूलाई सकारात्मक, स्वस्थ र अनुशासित गतिविधितर्फ आकर्षित गर्नु रहेको छ।
यसैबीच, प्रतियोगितामा सहभागी विद्यालयहरूको तयारी सहज बनाउन आर्थिक सहयोगको व्यवस्था गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेलका अनुसार राजमार्ग आसपासमा रहेका विद्यालयलाई ४५ हजार रुपैयाँ र राजमार्गदेखि टाढा रहेका विद्यालयलाई ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ।
गाउँपालिकाले यस प्रकारका प्रतियोगितामार्फत दीर्घकालीन रूपमा खेलकुद संस्कृतिको विकास र युवा सहभागिता बढ्ने विश्वास लिएको छ।




