युभेन्ट्सको फराकिलो जित

इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रेमोनेन्समाथि एकतर्फी प्रदर्शन गर्दै ५-० को शानदार जित दर्ता गरेको छ । यो जितसँगै लिगको शीर्ष पाँच स्थानको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।

खेलको सुरुवातदेखि नै दबाबमा राखेको युभेन्ट्सका लागि ग्लेइसन ब्रेमर, जोनाथन डेविड, केनान विडिज र वेस्टन म्याककेनीले १-१ गोल गरे।

युभेन्ट्सले थप एक गोल आत्मघाती उपहारका रूपमा पाएको हो । जुन क्रेमोनेन्सका फिलिपो टेरासियानोबाट भएको थियो।

खेलको २७ औं मिनेटमा क्रेमोनेन्सका डेविड निकोलले रातो कार्ड पाएपछि घरेलु टोली दश खेलाडीमा सीमित हुन पुगेको थियो । त्यसपछि युभेन्ट्सले खेलमा पूर्ण नियन्त्रण कायम राख्दै सहज जित निकालेको हो।

यस जितसँगै युभेन्ट्सले ३९ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान ३९ अंकसहित नापोली तेस्रो र रोमा पाँचौं स्थानमा रहेका छन्।

शीर्ष स्थानमा इन्टर ४३ अंकका साथ अग्रस्थानमा छ भने एसि मिलान ४० अंकसहित दोस्रो स्थानमा रहेको छ । अर्कोतर्फ, यो हारसँगै क्रेमोनेन्स २२ अंकमै सीमित रहँदै लिग तालिकाको १३औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :