काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा सुरु हुन लागेको महिला फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो यात्रा मंगलबार हुने श्रीलंकाविरुद्धको खेलबाट सुरु गर्दैछ।
थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालामा रहेको फुटसल एरिनामा हुने उक्त खेल नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
सात राष्ट्र सहभागी प्रतियोगिताको उद्घाटन दिनमा कुल तीन खेल सञ्चालन हुँदैछन्। तीमध्ये दिनको अन्तिम खेलका रूपमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुन लागेको हो।
सबै टोलीले पहिलो पटक महिला फुटसलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेका हुन्। यसअघि दक्षिण एसियाली राष्ट्रहरू पुरुष फुटसलतर्फ भने एएफसी एसियन कप छनोट जस्ता प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका थिए।
जनवरी २६ सम्म सञ्चालन हुने च्याम्पियनसिप सिंगल राउन्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ। लिग चरणका सबै खेलपछि सबैभन्दा बढी अंक हासिल गर्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।
नेपाली टोलीः
दीपा राई (कप्तान), झरना डुम्राकोटी (गोलकिपर), सावित्री किशन (गोलकिपर), अनिता केसी, अञ्जली मचामसी, विमला चौधरी, विमला थापा, जेनिफर राना, मनिषा थापामगर, प्रतीक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री,सजीना कोइराला, सुनकला राई, सुष्मा तामाङ




