यू-१९ महिला साफको उपाधि भारतलाई

काठमाडौं । पोखरा रंगशालामा शनिबार सम्पन्न साफ यू-१९ महिला च्याम्पियनसिपको सातौं संस्करणमा भारतले शानदार प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको छ।

सर्वाधिक सफल टोली तथा साविक विजेता बंगलादेशलाई फाइनलमा ४-० को फराकिलो अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।

फाइनल खेलमा भारतका लागि कप्तान जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले १-१ गोल गर्दै टोलीको जित सुनिश्चित गरे। खेलको पहिलो हाफमै अग्रता बनाएको भारतले दोस्रो हाफमा थप तीन गोल गर्दै बंगलादेशलाई खेलमा फर्कने कुनै मौका दिएन।

यसअघि लगातार तीन संस्करणको उपाधि जितिसकेको बंगलादेश साफ यु–१९ महिला च्याम्पियनसिपको इतिहासमा पाँचपटक च्याम्पियन बनिसकेको टोली हो।

यसपटकको प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो। सिंगल राउन्ड रोबिन पद्धतिमा भएको लिग चरणपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका भारत र बंगलादेश फाइनलमा पुगेका थिए।

लिग चरणमा बंगलादेशले आफ्ना तीनवटै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो भने भारतले लिग चरणमै बंगलादेशसँग २-० को हार बेहोरेको थियो। फाइनल जितसँगै भारतले उक्त हारको बदलासमेत लिँदै उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :