मुस्ताङमा ५ औं राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल स्की संघले मुस्ताङ जिल्लाको बारागाउँ मुक्तिनाथ क्षेत्रमा स्की प्रशिक्षण तथा ५ औं राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरेको छ। बारागाउँ मुक्तिनाथ क्षेत्रमा स्की संघले चौथो पटक प्रतियोगिता आयोजना गरेको हो।

सन् २०२२ मा तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजना गरिएपछि लगातार तीन वर्षसम्म हिउँ नपरेका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन । ५ औं राष्ट्रिय स्की प्रतियोगितामा ४० जना खेलाडी सहभागी रहेकामा १४ जना पुरुष र १० जना महिला खेलाडी मात्र प्रतियोगिताका लागि योग्य भएका थिए।

प्रतियोगितामा पुरुषको सिनियरतर्फ रसुवाका छेवाङ मिंगुर तामाङ प्रथम, झापाका समिप लामिछाने दोस्रो र दोलखाका पुन्दरीक पाण्डे तेस्रो भए । पुरुष जुनियरतर्फ दोलखाका सामदेन खेल्नु शेर्पा प्रथम, भक्तपुरका अर्थ सिंह बोहरा दोस्रो र मुस्ताङका केसाङ गुरुङ तेस्रो भए।

महिला जुनियरतर्फ काठमाडौंकी नयना शाक्य प्रथम, महोत्तरीकी मेनका कुमारी आले दोस्रो र काठमाडौंकी आसिया तामाङ तेस्रो भइन्। महिला सिनियरतर्फ नुवाकोटकी संगिता लामा प्रथम र आयुशी महर्जन दोस्रो भइन्।

पुरुष सिनियरतर्फ प्रथम भएका छेवाङ मिंगुर तामाङ सन् २०२५ मा दक्षिण कोरियामा आयोजना भएको चौथो विन्टर युथ ओलम्पिक खेलमा सहभागी भइसकेका खेलाडी हुन् भने दोस्रो भएका समिप लामिछाने सन् २०२५ मै चीनमा आयोजना भएको एसियन स्की प्रतियोगितामा सहभागी भइसकेका खेलाडी हुन्।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल स्की संघका अध्यक्ष जीवन राम श्रेष्ठ, संघका उपाध्यक्षहरू शम्भु लामा र अन्जु भट्टराई, कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ तथा बारागाउँका मुखिया ग्याल्जेन गुरुङले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

उक्त अवसरमा नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवन राम श्रेष्ठले विजयी खेलाडीहरुलाई बधाई दिँदै मुस्ताङको मुक्तिनाथ क्षेत्र नेपालका हिमाली जिल्लामध्ये स्की खेलका लागि सबैभन्दा उपयुक्त स्थान भएको बताए।

उनले यस क्षेत्रलाई शीतकालीन खेल (विन्टर स्पोर्ट्स) को विकासका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूको गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै धार्मिक तथा पर्यटकीय महत्वसमेत उच्च भएकाले खेल पर्यटन विकासको अपार सम्भावना रहेको बताए।

यसका लागि प्रदेश र संघीय सरकारले व्यवस्थित पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। कार्यक्रमको सञ्चालन नेपाल स्की संघका महासचिव विजय श्रेष्ठले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :