एक समय, एशियन गेम्समा पदक जितेका खेलाडीहरुलाई हात्तीमा चढाएर शहर परिक्रमा गराइएको थियोे । हात्तीमाथि सवार विजयी खेलाडीहरुलाई टोल-टोलका बासिन्दाहरुले गल्लीमा उभिएर, झ्यालबाट फुल वर्षाएर स्वागत गर्दथे । खेलाडीहरुले राष्ट्रको गौरव बढाए भने आम नागरिकले स्वागत, सम्मान गर्ने यो बुलन्द तरिका थियो । पछिका दिनहरुमा हात्तीमा होइन, आर्मी ब्याण्डका साथ रथ गाडिमा राखेर घुमाउन थालियो । अझ कहिलेकाहि हुट नभएको जीपमा फुलमालाले ढपक्कै ढाकेर खेलाडीलाई नगर परिक्रमा गरेर सम्मान गरिदै आएको छ।
जे होस्, यस्तो शालिन सम्मानले दुनियालाई दिने सन्देश चाहि के हो भने ‘यदि खेलाडीले खेलेर राष्ट्रको इज्जत, मान सम्मान बढाउँछ भने राष्ट्रले पनि यस्तै सम्मान गर्ने गर्दछ । र, दुनियालाई राष्ट्रको लागि खेल अति महत्वपूर्ण विधा हो । यसमा राष्ट्रको गौरव, मान सम्मान अन्तरनिहित हुन्छ । यसले वर्तमान एवम् भावी पुस्तालाई खेल खेल्ने प्रेरणा दिन्छ । तसर्थ सरकारले खेलकुदलाई सधै प्राथमिकतामा राख्नु पर्दछ । यसको सुनियोजित विकास गर्नु पर्दछ भन्ने सन्देश जान्छ।
अतः खेलकुद–सिर्फ खेलकुद मात्र भनेर हुदैन । सरकारले खेलकुदभित्र पस्न सक्नु पर्दछ । खेलकुदभित्र धेरै कुराहरु छन्, उदाहरणका लागि खेलकुदको भौतिक पूर्वाधारहरु । खेलका लागि ग्राउण्ड, दौडिनका लागि ट्रयाक एण्ड फिल्ड, इन्डोर खेल खेल्नका लागि कभर्डहल, पौडी खेल्नका लागि स्वीमिङ पुल, क्रिकेट खेल्नका लागि क्रिकेट स्टेडियम आदि आधारभुत विकासगत संरचना निर्माण गरिएको हुनुपर्छ।
खेलकुदभित्र खेलाडी (तह–तहका) प्रशिक्षक, निर्णायक, अन्तर्राष्ट्रिय नियम कानुुन , प्रसस्त बजेट, खेल सामग्राी आदि कुराहरु नभई हुदैन । तसर्थ सरकारले खेलकुदलाई गम्भिरता पूर्वक लिनु पर्दछ । खेलकुद भन्ने बित्तिकै प्रशिक्षक र प्रतियोगिता चाहिन्छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अनि अन्तर्राष्ट्रिय तहसम्म प्रतियोगिता निर्धारण गरिएका हुन्छन् । यी प्रतियोगितामा, खेलाडीहरु धेरै चरण पार गर्दै राष्ट्रिय खेलाडी बनेर, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउँछन्।
ति अन्तर्राष्ट्रिय प्रतियोगिताहरु मध्य ओलम्पिक, एशियन गेम्स, साग गेम्स, एशियन, विश्व च्याम्पियनसिप आदि नै हुन् । यसमा पनि ओलम्पिक र एशियन गेम्सलाई विशेष नजरले हेरिन्छ । यि प्रतियोगितामा पदक हासिल गर्न सकियो भने राष्ट्रले खेलाडीलाई हात्ती, बग्गी र कारमा फूलमालाले स्वागत गर्ने चलन थियो र छ पनि । त्यसैले खेलकुदलाई गम्भिरता पूर्वक लिन सिकौं।





