साविक विजेता पुलिसलाई हराउँदै आर्मीको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। अलराउण्डर बसिर अहमदको उत्कृष्ट शतकको मद्दतमा आर्मीले साविक विजेता नेपाल पुलिस क्लबलाई २२ रनले हराएको हो।

तल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेल वर्षाका कारण ढिला सुरु भई ४७ ओभरमा सीमित गरिएको थियो। टस जितेर पुलिसले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले ८ विकेट गुमाएर २४३ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।

आर्मीको इनिङ्समा बसिर अहमद चम्किए। उनले ८६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै १०० रनको शानदार शतक पूरा गरे। यो उनको प्रधानमन्त्री कपमा पहिलो शतक पनि हो। उनले पाँचौँ विकेटका लागि भीम सार्की सँग ८८ रनको महत्वपूर्ण साझेदारी गरे। भीमले ६५ बलमा ६२ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याए।

अन्य खेलाडीमध्ये नरेन साउद २१ रनमा अविजित रहे भने तृतराज दास १३ रनमै आउट भए। अर्जुन साउद र इम्रान शेख ले समान १०-१० रन बनाए। पुलिसतर्फ श्रवण यादव ले ३ विकेट लिए भने सागर ढकाल र रशिद खान ले समान २-२ विकेट लिए।

२४४ रनको लक्ष्य पछ्याएको पुलिस ४५.३ ओभरमा २२१ रनमा समेटियो। पुलिसका लागि रशिद खानले ८२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६० रन जोडे। शंकर राना ले ४६ रन बनाए भने कप्तान आरिफ शेख ले ३८ रन योगदान दिए। करण केसी २३ रनमा आउट हुँदा श्रवण यादवले १३ रन बनाए।

आर्मीका बलरमध्ये नरेन साउदले ३ विकेट लिए भने आकाश चन्द ले २ विकेट झारे। साथै कुशल मल्ल, शाहब आलम, बसिर अहमद र पवन कार्की ले समान १-१ विकेट लिए।

यस जितसँगै आर्मीले प्रतियोगितामा २ अंक जोडेको छ भने साविक विजेता पुलिस पहिलो खेलमै हार बेहोर्दै अंकविहीन छ। यस्तै, आजै भएको अर्को खेलमा एपीएफले ले बागमती प्रदेश लाई ७१ रनले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :