छैटौं एसियन बिच गेम्समा खेल्ने खेलाडीको बिदाई

काठमाडौं । छैटौं एसियन बिच गेम्स २०२६ मा नेपालको तर्फबाट सहभागिता जनाउने दुई खेलका खेलाडीलाई नेपाल ओलम्पिक कमिटीले बिदाई गरेको छ।

नेपाल ओलम्पिक संघ (एनओसी) ले आइतबार कमिटीको कार्यालय सातदोबाटोमा खेलाडीहरुलाई बिदाई गरेको हो । चीनको सानियामा हुने छैटौँ एसियन बीच गेम्सका लागि नेपालको तर्फबाट २ वटा खेलले सहभागिता जनाउने छ।

नेपालबाट महिला कबड्डी टिम र कुस्तीले नेपालको तर्फबाट छैटौँ एसियन बीच गेम्समा प्रतिस्पर्धा गर्नेछन् । नेपालको लागि यस प्रतियोगितामा कबड्डीबाट ६ खेलाडीसहितको टिम र कुस्तीमा पुरुष तर्फ २ र महिला तर्फ १ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

पुरुष तर्फ सुरेश चुनाराले ८० किलोमा प्रतिस्पर्धा गर्नेछन् भने त्रिलोकी प्रसाद यादवले ९० केजी माथिको तौलमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सुशिला चन्दले ७० केजीमा प्रतिस्पर्धा गर्नेछिन्।

खेलाडीलाई बिदाई गर्दै ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई आफ्नो उत्कृष्ट दिँदै नेपालको नाम उच्च राख्दै खेल्न अनुरोध गरे। उनले यस पटक चाहेर पनि नेपालबाट धेरै खेल सहभागी गराउन नसकेको भन्दै खेलेका खेलहरूले राम्रो प्रदर्शन गरी नेपालको नाम राख्न शुभकामना दिए।

‘विश्ववरियताका आधारमा सहभागी हुन पाउने भएकाले धेरै खेल सहभागी गराउने इच्छा हुँदा पनि हामीले सहभागिता गराउन सकेनौँ। तर सहभागी तपाईंहरुले नेपालको नाम राख्ने गरी राम्रो प्रदर्शन गर्नुहोला।’

बिदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैध, महासचिव राजिव श्रेष्ठ लगायतका पदाधिकारीहरु उपस्थित रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :