काठमाडौं । रुवाण्डामा भइरहेको पहिलो संस्करणको आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जित हासिल गरेको छ।
आइतबार भएको आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा नेपालले इटलीलाई ५० रनले पराजित गरेको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले इटालीसँग खेलेको यो पहिलो खेल हो।
जितका लागि नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीले १८.४ ओभरमा ६२ रनमा ९ विकेट गुमाएको अवस्थामा १०औं नम्बरको ब्याटर ब्याटिङमा नआएपछि नेपालले खेल जितेको हो।
इटलीका ब्याटरहरुले कमजोर ब्याटिङलाई निरन्तरता दिए र लक्ष्य भेट्टाउन सकेनन् । नेपालका लागि रुबिना क्षेत्रीले ४, कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले समान १ विकेट लिइन्।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन्।
यस्तै, सम्झना खड्का १६, बिन्दु रावल १५ तथा कप्तान इन्दु बर्मा १० रनमा आउट भइन् । नेपाल पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित हुँदा इटलीले भने भने घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो।
प्रतियोगितामा नेपाल र इटलीका अलावा घरेलु टोली रुवाण्डा, भानुआटु र अमेरिका सहभागी रहेका छन् । प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुने र लिगको सबै खेल पश्चात शीर्ष स्थानमा रहने देश विजेता बन्नेछन् ।




