दक्षिणकाली फाइट नाइट सम्पन्न

काठमाडौं । काठमाडौंको दक्षिणकाली क्षेत्रमा सञ्चालन गरिएको “दक्षिणकाली फाइट नाइट” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । चाल्नाखेल स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न तहका खेलहरू आकर्षणको केन्द्र बनेका थिए।

कार्यक्रमअन्तर्गत एमेच्योरतर्फ २४ खेल, सेमि–प्रोफेसनलतर्फ ९ खेल र प्रोफेसनलतर्फ ८ खेल गरी कुल ३९ वटा फाइट सम्पन्न भएका थिए। प्रतियोगिताको विशेष आकर्षणका रूपमा प्रोफेसनल अन्तर्राष्ट्रिय फाइटहरू रहेका थिए, जहाँ नेपाल र भारतबीच ३ वटा प्रतिस्पर्धा भएका थिए। ती सबै खेलमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विजय दिलाएका छन्।

६५ केजी तौल समूहमा नेपालका अकेश केसीले भारतका सन्नी सिंहलाई पराजित गरे। त्यस्तै ७० केजी तौल समूहमा निर्पेश ढुंगानाले भारतका सुलेमान खानमाथि जित हात पारे । प्रतियोगिताको मुख्य आकर्षण (मेन इभेन्ट) मा नेपालका भोला कुमार राई (शिरिष) ले भारतका अभिषेक सिंहलाई नकआउट गर्दै स्वर्ण पदक जित्न सफल भए।

अन्य प्रोफेसनल प्रतिस्पर्धाहरूमा पनि नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। नेपाल पुलिस क्लबका आसिक कोली र पूर्णजित राई विजयी भए भने सक्यान्त क्लबका एलेन थकाली र अर्मुन थापा पनि जित हासिल गर्न सफल भए । साथै, हिट एन्ड रन मुआयथाईका अनुप कुटालले पनि आफ्नो खेलमा विजय हात पारे।

समग्रमा, “दक्षिणकाली फाइट नाइट” नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र दर्शकहरूको उत्साहजनक उपस्थितिका बीच सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :