काठमाडौं । नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ वुधबार स्क्रिनिङ गरिएको छ । नेपाल कबड्डी लिग दोस्रो सिजन तयारीको क्रममा एनकेएल एन्थम सङ पनि सार्वजनिक गरियो।
लबिम मल, पुल्चोकस्थित क्यूएफएक्समा आयोजित कार्यक्रममा स्क्रिनिङ गरिएको डकुमेन्ट्रीले भगवान् गौतम बुद्धले ‘हूतुतु’ को रुपमा कबड्डी खेलेको इतिहासलाई पनि देखाइएको छ । निशान शाहीद्वारा निर्देशित डकुमेन्ट्रीमा २०३४ सालमा स्थापित अखिल नेपाल कबड्डी संघ, त्यसको दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता, माओवादी जनयुद्धताका प्रतियोगिताविहिन ११ वर्षको कठिन अवधिलाई पनि देखाउने प्रयास गरिएको छ।
अनि ढाका, बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग २०१०) मा नेपाली कबड्डी टिमले जितेको ऐतिहासिक पदक, नेपालमै आयोजित १३ औं साग २०१९ र ढाकामा भएको चौथो बंगबन्धु कपका उपलब्धि, चीनमा महिला टिमले हात पारेका १९ औं एसियाली खेलकुद २०२२ र छैटौं एसियन बिच गेम्स २०२६ का ऐतिहासिक कांस्यपदकलाई डकुमेन्ट्रीले सुखद पक्षको रुपमा समेटेको छ । अर्थात्, डकुमेन्ट्रीमा माटोदेखि म्याटसम्मको रुपान्तरणलाई संघर्ष र सफलताको कथाको रुपमा चित्रण गरिएको छ । एक घन्टा लामो डकुमेन्ट्रीले गत वर्ष एनकेएलको सुरुआतसँगै पुनरुत्थानको युग प्रारम्भलाई प्रष्ट पारेको छ।
एनकेएल आयोजक एस्ट्रेनिक्स म्यानेजमेन्टद्वारा प्रस्तुत गरिएको डकुमेन्ट्रीको एक्ज्युकेटिभ प्रोड्युसर अमितकुमार बेगानी, प्रोड्युसर प्रवीन कुमार साह, एडिटर सुमन खड्का र क्रिएटिभ एडिटर असिम श्रेष्ठ रहेका छन् । डकुमेन्ट्री स्क्रिनिङलगत्तै र्यापर भियोमाद्वारा तयार पारिएको एनकेएलको एन्थम सङ पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रममा ‘एनकेएल, कबड्डी र व्यावसायिकता’ विषयमा प्यानल डिस्कसनसमेत गरिएको थियो, जहाँ पत्रकार राजु घिसिङ मोडोरेटर रहँदा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरम्यान अमितकुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र राष्ट्रिय खेलकुद परिषदका चिफ कोच (कबड्डी) पार्वती राई प्यानलिस्ट रहेका थिए।
नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ जेठ २२ (जुन ५ तारिख) सुरु हुँदैछ, जहाँ ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । ती टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् स्वदेशी ५४ र बिदेशी ३० गरी ८४ खेलाडी अनुबन्ध गरिसकेका छन्।
दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले खेल्नेछन्।
पहिलो सिजनको रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई पराजित गर्दै जनकपुर नाइट्स च्याम्पियन भएको थियो । एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएल सिजन २ को ब्रोडकास्ट पार्टनरको रुपमा कान्तिपुर म्याक्स टीभी एचडी भित्र्याइसकेको छ । फ्रेन्चाइज लिगको रियालिटी शो पार्टनर नेपहपको श्रीपेच रहेको छ।




