कभर्डहल दशरथ रंगशाला परिसरमै बने भलिबलले न्याय पाउने

श्रीविक्रम भण्डारी

भलिबल खेलको इतिहासलाई कोट्याउदा गर्बिलो देखिन्छ । चालिसको दशकमा भलिबल खेलले प्राप्त गरेको उचाई र लोकप्रियता आफैमा प्रशंसायोग्य थियो । साँचो अर्थमा भन्नुपर्दा तत्कालिन समयमा भलिबलको लोकप्रियता फुटबलको भन्दा कुनै कोणबाट कम थिएन । भलिबलले यस्तो लोकप्रियता हासिल गर्नुमा तत्कालिन सदस्यसचिव शरदचन्द्र शाहको विशेष भूमिका रहेको थियो । शाहले आम खेल भलिबललाई त्यो उचाईमा पुर्याए जसको उदाहरणको रुपमा पूर्वका दीपक सापकोटा र सुदूरपश्चिमका जनक विष्टलाई लिन सकिन्छ। त्यतिबेला सापकोटा र विष्ट भलिबलका हिरो थिए । उनीहरुको खेल हेर्न जावलाखेलमा हजारौं दर्शकहरुको भिड लाग्ने गर्थ्यो । यी दुई खेलाडी बाहेक भलिबलले थुप्रै हिरो जन्माएको छ । जसले नेपाली भलिबलको आन, वान र शानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन विशेष भूमिका निर्वाह गरेका छन्।

त्यसबेला भलिबल खेलको उद्गमबिन्दु भनेको जावलाखेलको जावलाखेल युथ क्लब थियो । यहाँबाट उत्पादन हुने खेलाडीको राष्ट्रिय टोलीमा दबदबा हुन्थ्यो । पछि यिनै खेलाडीहरु विभिन्न संघ-संस्था र निकायहरुबाट भलिबल खेल्दथे । साँच्चिकै भन्ने हो त्यो बेला नेपालमा भलिबलको स्वर्ण युग चलेको थियो । तर, बिडम्बना, दशरथ रंगशाला काण्डसँगै तत्कालिन सदस्यसचिव शाहको पलायन र २०४६ सालको आन्दोलन पश्चात् भलिबल लामो समय राजनीतिको शिकार बन्न पुग्दा गुमनाम हुनपुग्यो। भलिबलका खेलाडी र पदाधिकारीहरुले चाहेर पनि नेपथ्यमा रहेको भलिबललाई आवरणमा प्रस्तुत गर्न सकेनन् । यस्तो, अवस्थामा आशा लाग्दा थुप्रै खेलाडी गुमनाम भए पनि विभागिय टोलीहरुले भलिबलको अस्तित्वलाई जोगाउन सञ्जीवनीको कार्य गरेका थिए । परिणाम, भलिबलले आफ्नो बिउ जोगाउन भने सफल भएको थियो।

जब, भलिबल संघको बाघडोर दानबहादुर तामाङले सम्हाले त्यसपछि कोमामा रहेको भलिबल ब्युझिएन मात्रै, कछुवाको चालमा समेत हिड्न थाल्यो । भलिबलमा केहि राम्रा संकेत समेत देखिन थाले । जसले भलिबल खेलको विकासका लागि सम्भावनाका ढोका समेत खोलिदियो । भलिबल संघको बाघडोर मनोरञ्जनरमण शर्माले सम्हालेपछि भलिबलका चारै ढोका मात्रै खुलेनन्, भलिबल खरायोसरि दौडिन थाल्यो । एकपछि अर्को गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता हुन थाल्यो । नढाँटी भन्नुपर्दा त्यसबेला खेलकुद भलिबलमय बनेको थियो । परिणाम, शर्मा नेतृत्वको पहल कदमीमा राज्यले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि भलिबलको नौंलो अध्याय शुरु भयो । शेयर बजारमा सूचकाङ्क बढे झैं भलिबलको लोकप्रियतामा राताराता बढोत्तरी भयो, जुन भलिबल खेलका पदाधिकारीका लागि खुशीको कुरो मात्र नभई चुनौंति पनि त्यत्तिकै थपिदिएको थियो । जसलाई शिरोधार्य गर्नु बाहेक अर्को विकल्प थिएन, भलिबल संघका लागि । यसरी भलिबल संघ नौंलो गन्तव्यको यात्रामा निस्कन बाध्य भएको थियो । परिणाम, आजको सफलताको मूर्तरुप हो भलिबल।

सबैले भन्ने गरेका छन्, भलिबल संघका वर्तमान अध्यक्ष जितेन्द्रबहादुर चन्द भलिबलका डाईनामिक पर्सन हुन् । पछिल्लो समयमा उनले भलिबल खेलको वृद्धि विकासका लागि गरेको कार्यसम्पादन आफैमा प्रशंसनिय र उदाहरणीय बनेको छ । भलिबल राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि त्यत्तिकै छाएको छ । अन्तर्राष्ट्रियस्तरमा पदक मात्र होइन, प्रशंसा बटुल्न पनि सफल भएको छ । जुन तारिफयोग्य मात्र छैन, मुक्तकण्ठले प्रशंसा गर्न लायक छ । तर, बिडम्बना, विगत एक दशकदेखि भलिबल संघले कल्पना गरेको भन्दा बढी उपलब्धि हासिल गरेपनि सरकारको नजरमा भने जसरी पर्नुपर्ने थियो त्यसरी पर्न सकेको छैन । यसको ज्वलन्त उदारहण हो, ‘राष्ट्रिय खेल भलिबल संघको अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको कभर्डहल नबन्नु।’ कभर्डहल बनाउने कुरामा प्रयास भएका हुन्, नभएका भने पक्कै होइनन् । तर, सुन्दरीजल र गोदावरीको पाखो राष्ट्रिय खेल भलिबलको कभर्डहल बनाउनका लागि कति उपयुक्त हुन्थ्यो र पायक पथ्र्यो? त्यो आफैमा मनन योग्य थियो । तसर्थ राष्ट्रिय खेल भलिबलको आधुनिक कभर्डहल दशरथ रंगशाला परिसरमा बनाउनु पर्छ । त्यसपछि मात्रै राष्ट्रिय खेल भलिबलले न्याय पाउने छ । त्यसपछि भलिबल खेलको लोकप्रियतामा चार चाँद लाग्ने कुरामा सायदै कसैको दुईमत होला । जयहोस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :