दक्षिण एसियाली उसु महासंघको उपाध्यक्षसहित विभिन्न पदमा नेपाली प्रतिनिधि निर्वाचित

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न दक्षिण एसियाली उसु कांग्रेस तथा निर्वाचनबाट नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ दक्षिण एसियाली उसु महासंघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

त्यसैगरी, नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामा महासंघको अशोसियट सचिव पदमा निर्वाचित भएका छन् भने बोर्ड सदस्य पदमा नेपाल उसु महासंघका उपाध्यक्ष दधिराम सिटौला निर्वाचित भएका छन्।

दक्षिण एसियाली उसु महासंघअन्तर्गत विभिन्न समितिमा समेत नेपालका प्रतिनिधिहरू चयन भएका छन्। प्राविधिक समिति सदस्यमा अन्तर्राष्ट्रिय आईडब्लुएफ ए ग्रेड सान्दा रेफ्री रतनबहादुर खाती चयन भएका छन्। परम्परागत उसु समिति सदस्यमा नेपाल उसु महासंघका सचिव गोविन्द्रबहादुर शाही चयन भएका छन्।

यसैगरी, बजार व्यवस्थापन तथा विकास समिति सदस्यमा नेपाल उसु महासंघका सचिव निकेश श्रेष्ठ तथा महिला विकास समिति सदस्यमा अन्तर्राष्ट्रिय आईडब्लुएफ प्रशिक्षक जुनी राई चयन भएका छन्।

उक्त दक्षिण एसियाली उसु कांग्रेस तथा निर्वाचनमा दक्षिण एसियाका ६ राष्ट्र भारत, बंगलादेश, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलंका सहभागी भएका थिए । कार्यक्रममा सहभागी राष्ट्रका राजदूतावास प्रमुखहरू, श्रीलंकाको राष्ट्रिय खेलकुद निर्देशक, श्रीलंका राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्ष तथा चिनियाँ राजदूतावासका कन्सुलर विभाग प्रमुखहरूको उपस्थिति रहेको थियो।

निर्वाचनबाट अध्यक्ष पदमा भारतका भुपेन्द्र सिंह भाजवा तथा महासचिव पदमा श्रीलंकाका मनेल धर्मक्रिती निर्वाचित भएका छन् । उनीहरू क्रमशः एसियाली उसु महासंघका बोर्ड सदस्य तथा अन्तर्राष्ट्रिय उसु महासंघको प्राविधिक समिति सदस्य रहेका छन्।

कांग्रेसले आगामी अक्टोबर २०२६ मा भारतमा दक्षिण एसियाली उसु च्याम्पियनसिप तथा रेफ्री सेमिनार आयोजना गर्ने निर्णय गरेको छ । साथै, अन्य विभिन्न कार्यक्रमहरूको वार्षिक क्यालेन्डर पनि छिट्टै सार्वजनिक गर्ने निर्णय गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :