फिफा विश्वकप २०२६: उदाउँदा स्टार लामिन यामालमाथि विश्वको नजर

काठमाडौं । फिफा विश्वकप २०२६ नजिकिँदै जाँदा विश्व फुटबलमा सबैभन्दा धेरै चर्चा गरिएका युवा खेलाडीमध्ये स्पेनका लामिन यामाल अग्रपंक्तिमा छन् । १३ जुलाई २००७ मा जन्मिएका यामाल अहिले स्पेन राष्ट्रिय टोली र बार्सिलोनाका प्रमुख खेलाडीका रूपमा स्थापित भइसकेका छन्।

राइट विंगरका रूपमा खेल्ने यामाल आफ्नो उत्कृष्ट दृष्टि, ड्रिब्लिङ, सिर्जनात्मक खेल, सटिक पास, गोल गर्ने क्षमता र नेतृत्वका कारण विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये गनिन्छन्।

यामालले ८ सेप्टेम्बर २०२३ मा जर्जियाविरुद्धको खेलबाट १६ वर्षको उमेरमै स्पेनको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यसयता उत्कृष्ट खेलका कारण उनको चर्चा तीव्र गतिमा हुँदै आएको छ। उनी १५ वर्ष ९ महिना १६ दिनको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट खेल्दै क्लब इतिहासकै सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडी बनेका थिए । त्यसपछि उनी बार्सिलोना, स्पेनिस लिग र स्पेन राष्ट्रिय टोलीका सबैभन्दा कम उमेरका गोलकर्ता बन्न सफल भए।

सन् २०२५ मा आयोजित विश्व फुटबलको प्रतिष्ठित उत्कृष्ट खेलाडी सम्मानमा उनले दोस्रो स्थान हासिल गरेका थिए । कम उमेरमै उनले स्थापित खेलाडीहरूलाई चुनौती दिँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीहरूको सूचीमा उभ्याएका छन्।

यामालले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा स्पेनलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। १७ वर्ष पुगेको भोलिपल्ट उनले आफ्नो पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जिते । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्सविरुद्ध गरेको शानदार गोलले उनलाई प्रतियोगिताको इतिहासमै सबैभन्दा कम उमेरका गोलकर्ता बनायो । उनले प्रतियोगिताभर चार गोलका अवसर सिर्जना गर्दै सहायक भूमिका निर्वाह गरेका थिए र उत्कृष्ट युवा खेलाडीको पुरस्कार पनि जितेका थिए।

बार्सिलोनाको प्रसिद्ध युवा प्रशिक्षण केन्द्र ला मासियाबाट उदाएका यामालले १९ वर्ष नपुग्दै स्पेनका लागि २५ खेल खेलिसकेका छन् भने बार्सिलोनाका लागि १५० भन्दा बढी खेल खेलिसकेका छन् । उनले क्लबबाट ३ पटक स्पेनिस लिग उपाधि समेत जितिसकेका छन्।

आगामी विश्वकपमा उनलाई स्पेनी टोलीको मुख्य आशामध्ये एक मानिएका छन् । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीलाई उपाधि यात्रामा नेतृत्व गर्न सक्ने खेलाडीका रूपमा उनको चर्चा भइरहेको छ।

विश्व फुटबलका धेरै महान व्यक्तित्वहरूले पनि यामालको खुलेर प्रशंसा गरेका छन् । अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका पूर्व खेलाडी लियोनल मेस्सीले नयाँ पुस्ताबाट एक खेलाडी रोज्नुपरे यामाललाई रोज्ने बताएका छन् । उनका अनुसार यामालले कम उमेरमै असाधारण उपलब्धि हासिल गरेका छन् र भविष्य अझ उज्ज्वल छ।

यामाललाई सिनियर टोलीमा अवसर दिने पूर्व बार्सिलोनाका प्रशिक्षक जाभी हेर्नान्डेजले उनलाई फुटबल इतिहासका महान प्रतिभामध्ये एक बन्न सक्ने खेलाडी बताएका छन् । उनका अनुसार १५-१६ वर्षको उमेरमै यामालले व्यावसायिक खेलाडीहरूलाई सहजै छक्याउने क्षमता देखाइसकेका थिए।

बार्सिलोनाका वर्तमान प्रशिक्षक हान्सी फ्लिकले यामाललाई अविश्वसनीय खेलाडी भन्दै भविष्यमा विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्ने बताएका छन् । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले यामालसँग विशेष प्रतिभा रहेको र उनी आफ्नो उमेरभन्दा निकै परिपक्व खेल प्रदर्शन गर्ने खेलाडी भएको बताएका छन्।

बार्सिलोना र स्पेनका डिफेन्डर पाउ कुबार्सीका अनुसार यामाल एक्लैले खेलको नतिजा परिवर्तन गर्न सक्ने खेलाडी हुन् । बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले १५ वर्षको उमेरमै प्रशिक्षणमा यामालको स्तर देखेर आफू अचम्मित भएको बताएका छन्।

स्पेनका महान मिडफिल्डर आन्द्रेस इनिएस्ताले यामालसँग अद्वितीय खेलाडी बन्न आवश्यक सबै गुण रहेको बताएका छन् भने पेप ग्वार्डिओलाले उनको खेल बुझ्ने क्षमता असाधारण रहेको उल्लेख गरेका छन् । पूर्व इन्टर मिलान प्रशिक्षक सिमोने इन्जाघीले त यामाललाई ५० वर्षमा एकपटक मात्र जन्मिने प्रतिभा भन्दै आफूले प्रत्यक्ष रूपमा यस्तो क्षमता कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन्।

कम उमेरमै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका लामिन यामाल अब विश्वकप २०२६ मा आफ्नो प्रतिभा विश्वसामु थप प्रभावशाली ढंगले प्रस्तुत गर्ने तयारीमा छन् । विश्व फुटबलका समर्थकहरूको नजर अहिले उनीमाथि केन्द्रित छ । यस्तै, उनका लागि यो विश्वकप स्मरणीय बन्ने धेरैले विश्वास लिएका छन्।

स्पेनको विश्वकप २०२६ खेल्ने टोली:

गोलकिपर: उनाई सिमोन, डेभिड राया, जोआन गार्सिया

डिफेन्डर: पेड्रो पोरो, मार्कोस योरेन्ते, आयमेरिक लापोर्ते, पाउ कुबार्सी, मार्क पुबिल, एरिक गार्सिया, मार्क कुकुरेया, आलेखान्द्रो ग्रिमाल्दो

मिडफिल्डर; रोड्रिगो हेर्नान्देज, मार्टिन जुबिमेन्दी, पेड्री गोन्जालेज, फाबियान रुइज, मिकेल मेरिनो, पाब्लो पाएज, आलेक्स बाएना

फरवार्ड: मिकेल ओयारजाबाल, लामिन यामाल, फेरान टोरेस, बोर्खा इग्लेसियास, डानी ओल्मो, भिक्टर मुन्योस, निको विलियम्स र येरेमी पिनो

तस्बिर: फिफा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :