नेपाली पुरुष क्रिकेट टोली २० औं एसियाडका लागि छनोट

काठमाडौं । जापानमा आयोजना हुने २० औं एसियायी खेलकुद (एसियाड) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले स्थान सुरक्षित गरेको छ।

मंगलबार सम्पन्न एसियन गेम्स छनोट प्रतियोगिता अन्तर्गत समूह ‘ए’ मा मलेसियाले चीनलाई हराएपछि नेपाल र मलेसिया दुवै टोली अन्तिम चारमा पुग्दै एसियन गेम्समा छनोट भएका हुन्।

७ राष्ट्र सहभागी छनोट टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने व्यवस्था रहेकाले सेमिफाइनलमा स्थान बनाउने चारवटै टोलीले एसियन गेम्सको टिकट पक्का गर्नेछन्।

समूह ‘ए’ मा नेपाल, मलेसिया र चीन मात्र रहेका थिए। कतारले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएपछि समूहमा तीन टोली मात्र बाँकी रहेका थिए।

नेपालले यसअघि चीनलाई पराजित गरिसकेको थियो भने मलेसियाले पनि चीनमाथि जित हात पारेपछि दुवै टोलीको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो।

अब नेपाल र मलेसियाबीच बिहीबार हुने खेलले समूह विजेताको टुंगो लगाउने छ । यता नेपाली महिला क्रिकेट टोलीले भने छनोट चरण पार गर्न सकेन।

चीनसँगको प्रतिस्पर्धामा पराजित भएपछि महिला टोली एसियन गेम्समा स्थान बनाउनबाट वञ्चित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :