नखिपोटमा खुला बास्केटबल आइतबारदेखि

काठमाडौं । नखिपोट युथ क्लबको आयोजनामा पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा हालसम्म पुरुषमा १८ तथा महिलामा ७ टिमको सहभागिता निश्चित भएको आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

उनले टिम दर्ताको समय शुक्रबारसम्म रहेकाले सहभागी टिमको संख्या बढ्न सक्ने बताए । पुरुषको खेल नकआउट तथा महिलाको खेल लिग कम नकआउट पद्धतिमा हुनेछ।

पुरुषमा नेपाल आर्मी तथा महिलामा माउन्टेन मुभर्स साविक विजेता हुन् । हरेक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकले जनाएको छ । त्यसमा २ खेलाडीले खेल्न पाउने प्रावधान छ।

प्रतियोगितामा मोफसलबाट कम्तीमा २ टिमको सहभागिता पक्का भइसकेको आयोजक क्लबका सदस्य एवं प्रतियोगिता संयोजक विनोद श्रेष्ठले बताए । दुवै टिम धरानका हुन् । धरानबाट जोन एन्ड द लोकल ब्यान्ड र धरान टिमले सहभागिता पक्का गरिसकेका छन् । मोफसलबाट पहिलोपटक टिम सहभागी हुन लागेको हो।

पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलामा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार हात पार्ने छन् । पुरुषतर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ ले २० हजार र महिलाले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

उदीयमान पुरुष-महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए।

ललितपुर महानगरपालिका वडा १४ को मुख्य प्रायोजन तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल जेठ ३० गते हुनेछ । बास्केटबल बाहेक नखिपोट युथ क्लबले आकर्षक नगद पुरस्कार राशीको भलिबल र ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :