नेपाली खेलकुदमा तथ्याङ्क राख्ने प्रचलन नै छैन

रमेश खनाल (खेलकुद मनोविज्ञ)

कुनैपनि योजना बनाउनु पर्दा तथ्याङ्कको आवश्यकता पर्दछ । तथ्याङ्क अर्थात् डाटाबिना योजना बनाउन मुस्किल हुन्छ । तर, नेपालको सन्दर्भमा प्राय सबैको भनाई के छ भने नेपालका कार्यालय, विभागहरुमा तथ्याङ्क पाउन मुश्किल पर्दछ । अहिले त सजिलो भएछ कर्मचारीहरुलाई १९७२ सालको महा-भूकम्पले सबै तथ्याङ्क, फाइल बिनास पारिदियो । खोइ केहि भेटिन्न । सकेजति समेटेर राख्ने प्रयास गरेका छौं । उनीहरुलाई पहिले पनि झिझो लाग्दथ्यो । उनीहरुले तथ्याङ्क राख्ने गरेकै छैनन् । र, जसले तथ्याङक राखेका छन् उनीहरुले त्यसलाई अपडेट पनि गर्दैनन् । त्यसमा प्रमुखको पनि चासो रहन्न । अर्थात् भनौं तथ्याङ्क किन र कसलाई आवश्यकता पर्दछ सो पनि ज्ञात छैन र हुँदैन पनि।

खेलकुदमा यति धेरै प्रतियोगिताहरु आयोजना गरिन्छन् । सम्बन्धित राष्ट्रिय संघहरुले पनि तथ्याङ्क राखेका हुदैनन्। तपाई कुनै लेख वा अनुसन्धान गर्न संघको कार्यालयमा जानुहोस् प्रथम त्यहाँ स्टाफ नै हुँदैनन् । र, जुन संघमा स्टाफ राखिएका हुन्छन उनीहरुसँग सम्बन्धित खेलको प्रतियोगिता, प्रशिक्षणको तथ्याङ्क माग्नुस, उनीहरु निरह हुन्छन् । सबै कुराको तथ्याङ्क राख्ने प्रचलन नै छैन।

तर, जब विदेशी प्रशिक्षक नेपाली खेलाडीलाई प्रशिक्षण दिन आउँछन् तब उनीहरुलाई खेलाडी फायल चाहिन्छ । उनीहरुको खेल हिस्ट्रि खोज्दछन । खेलाडीको प्रशिक्षण, मेडिकल रिपोर्ट, प्रतियोगितामा सहभागिता र उपलब्धि हेर्न खोज्दछन । तर, पाउँदैनन्।

भनिन्छ, नेपालको खेल र खेलाडीको खेलस्तर बृद्धि हुन नसक्नुको यो एक प्रमुख कारण हो । खेलाडीहरुको हिस्ट्री ने अध्ययन नगरि ति प्रशिक्षकले कस्तो योजना बनाउँछन होला, स्वयममा गम्भिर भएर सोच्नु पर्दछ । अत: राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सबै राष्ट्रिय खेल संघहरुलाई प्रतियोगिता, प्रशिक्षण, उपलब्धि, खेलाडीको संख्या आदि इत्यादि कुराहरुको राम्रोसँग तथ्याङ्क राख्न निर्देशन दिनु पर्दछ । सके तथ्याङ्क पुस्तक नै प्रकाशित गर्न प्रेरित गर्नु पर्दछ । यदि सवै राष्ट्रिय खेल संघहरुले तथ्याङ्क पुस्तक वार्षिक रुपमा प्रकाशित गरे भने त्यसले खेल साहित्यको ठूलो विकास हुनेछ।

योजनाकारहरुले सोहि तथ्याङ्कको आधारमा खेल विकास योजना बनाउने छन । र, सरकारले बजेट निकासा गर्ने एक ठोेस आधार हुनेछ । अतः परिषदले १९७२ सालको भूकम्पका कारण देखाएर पन्छिन मिल्दैन । परिषद एउटा यस्तो संस्था हो जहाँ २०१५ साल देखिको तथ्याङ्क हुनु पर्दछ । तथ्याङ्कबिना योजनाको आधार विहिन योजना हुन्छ । जसले नतिजा निकाल्न सक्दैन । त्यसकारण स्पोर्ट्स स्टाटिकसलाई विशेष महत्व दिउ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :