नेपालगन्ज । विश्व रनिङ समुदायको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेसेसले नेपालको धारा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान गरेको छ।
नर्वेको ट्रम्सोमा जारी एम्सको २५ औं विश्व कांग्रेस अन्तर्गत शुक्रबार राति आयोजित विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो । एम्सका अध्यक्ष पाको बोराओले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी लाई अवार्ड हस्तान्तरण गरेका हुन्।
विश्वभरका रेस आयोजकमध्ये सामाजिक प्रभाव, नवीन अवधारणा र समुदायमा पुर्याएको योगदानका आधारमा एक आयोजकलाई मात्र प्रदान गरिने ‘एम्स सोसल अवार्ड’ विश्व रनिङ क्षेत्रकै प्रतिष्ठित सम्मान मध्ये एक हो । एम्समा विश्वभरका करिब ५ सय भन्दा बढी रेस आयोजक सदस्य रहेका छन् । हाल तीमध्ये अधिकांश सदस्य नर्वेको ट्रम्सोमा आयोजित कांग्रेसमा सहभागी छन् । बर्लिन म्याराथनका संस्थापक तथा एम्सका सह-संस्थापक ९० वर्षीय हर्स्ट मिल्डे पनि कार्यक्रममा उपस्थित छन्।
अवार्ड ग्रहणपछि नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले यो उपलब्धिप्रति खुशी व्यक्त गर्दै भने, “प्रतिष्ठित अन्तर्राष्ट्रिय म्याराथन आयोजकहरूको उपस्थितिमा ‘एम्स सोसल अवार्ड’ प्राप्त गर्नु अत्यन्त गौरवको विषय हो। यो नेपालगन्ज म्याराथनले मात्र नभई समग्र नेपालले प्राप्त गरेको सम्मान हो, किनभने यो एम्सको एकमात्र वार्षिक अवार्ड हो । यसले नेपालमा म्याराथन आयोजनाको विस्तार र गरिमा अझ बढाउने विश्वास लिएको छु।”

यसअघि यो अवार्ड क्रमशः ग्रेट इथोपियन रन (इथोपिया)-२०१३, टोकियो म्याराथन (जापान)-२०१४, म्याराथन इन्टरनेसनल लाला (मेक्सिको)-२०१५, म्युनिख म्याराथन (जर्मनी)-२०१६, म्याराथन डे लस फ्लोरेस मेडेलिन (कोलम्बिया)-२०१७, बेलग्रेड म्याराथन (सर्बिया)-२०१८ तथा हार्मोनी जेनेभा म्याराथन फर युनिसेफ (स्विट्जरल्यान्ड)-२०१९ लाई प्रदान गरिएको थियो। विविध कारणले केही वर्ष रोकिएको यो अवार्ड यस वर्षदेखि पुनः निरन्तरता दिइएको हो।
एम्सले नेपालगन्ज म्याराथनको निरन्तरता, विभिन्न अवधारणामा आधारित दौडहरूको सञ्चालन, जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभियान, कोभिड–१९ महामारीका बेला पनि टोकियो ओलम्पिकका लागि छनोट प्रतियोगिता आयोजना गरी राज्यलाई पुर्याएको सहयोग तथा नेपाल रनिङ म्यागजिन को निरन्तर प्रकाशनजस्ता पक्षहरूको मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेको नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए।
नेपालगन्ज म्याराथन सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । कोभिड महामारीका बेला पनि नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट प्रतियोगिता सञ्चालन गरिएको थियो।
नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भएको विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दिन, अर्थात् ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्ज म्याराथन सुरु गरिएको हो । बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक समाज रहेको नेपालगन्जमा शान्ति, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले म्याराथन अभियान प्रारम्भ गरिएको थियो।
हाल नेपालगन्ज म्याराथनसँग करिब एक दर्जन भगिनी इभेन्ट सञ्चालनमा छन् । विद्यालयस्तरका बालबालिकामा जलवायु परिवर्तनका प्रभावबारे सचेतना फैलाउने उद्देश्यले गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन पछिल्ला दुई वर्षदेखि सञ्चालन हुँदै आएका छन् । सुरक्षित र सक्रिय रात्रिकालीन दौड संस्कृतिको प्रवर्द्धन गर्न नेपालगन्ज १० के नाइट रन का दुई संस्करण सम्पन्न भइसकेका छन्।

त्यसैगरी नेपाली कला, संस्कृति र सम्पदाको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि काठमाडौं २५ किलोमिटर हेरिटेज रेस सञ्चालनमा ल्याइएको छ। कर्णाली प्रदेशमा कर्णाली हाफ म्याराथन समेत सुरु गरिएको छ।
लोकतान्त्रिक समाजमा संवाद र बहसको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्ज डिस्कोर्स अन्तर्गत नेपालगन्ज कन्क्लेभ का ६ संस्करण सम्पन्न भइसकेका छन्। गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गरिएको थियो, जसमा १८ देशका प्रतिनिधिहरू सहभागी भएका थिए।
यस वर्षदेखि वन ग्लोबल माइल अन्तर्गत नेपालमा कोहलपुर माइल र काठमाडौं माइल समेत सुरु गरिँदैछ। साथै, नेपाल रनिङ म्यागजिन को प्रकाशन पनि निरन्तर जारी रहेको छ।
विश्व रनिङ समुदायबाट प्राप्त ‘एम्स सोसल अवार्ड २०२६’ ले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिष्ठा दिलाएको छ भने नेपालको रनिङ संस्कृतिको विकास र प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।




