अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा अन्तर क्लब हक्की फ्रेन्डसिप म्याच सम्पन्न 

भक्तपुर । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीको सहकार्य तथा बागमती प्रदेश हक्की संघको आयोजनामा भक्तपुरमा अन्तर क्लब हक्की फ्रेन्डसिप म्याच सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्य प्रमुख अतिथि, नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्मा, महासचिव सुवर्ण श्रेष्ठ, स्थानीय वडा अध्यक्ष तथा सहभागी विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा महिला ३ र पुरुष ३ गरी जम्मा ६ टोलीको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चतुरानन्द राज वैद्यले ओलम्पिक आन्दोलनले खेलमार्फत मित्रता, सम्मान र उत्कृष्टताको भावना प्रवर्द्धन गर्ने बताउँदै यस्ता प्रतियोगिताले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उनले विद्यालय र समुदायस्तरमा खेल गतिविधिहरू विस्तार गर्दै ओलम्पिक मूल्यहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

त्यसैगरी, नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई एकताबद्ध गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै हक्की खेलको विकासका लागि विद्यालय तथा क्लबस्तरमा यस्ता प्रतियोगिताहरू निरन्तर सञ्चालन गरिनुपर्ने बताए।

महिलातर्फ गेस हक्की क्लब ‘बी’ ले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो भने गेस हक्की क्लब ‘ए’ उपविजेता बन्यो । पुरुषतर्फका खेलहरू पनि निकै प्रतिस्पर्धात्मक रहे, जहाँ सहभागी टोलीहरूले उच्च खेलकौशल र खेलभावनाको प्रदर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :