फिफा विश्वकप २०२६: स्विडेनलाई हराउँदै नकआउट चरणमा पुग्ने लक्ष्यमा जापान

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको तेस्रो खेलमा शुक्रबार बिहान जापान र स्विडेन डलास स्टेडियममा आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार बिहान ४:४५ बाट शुरू हुनेछ।

यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ । किनभने विजेता टोली नकआउट चरण (राउण्ड अफ ३२) मा पुग्ने छ।

जापानले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध दुई पटक पछाडि परेको अवस्था उल्टाउँदै २-२ को बराबरी खेलेको थियो । त्यसपछि दोस्रो खेलमा ट्युनिसियालाई ४-० ले पराजित गर्दै शानदार प्रदर्शन जित हासिल गरेको थियो।

यो जितसँगै जापान विश्वकप इतिहासमा एकै खेलमा चार गोल गर्ने पहिलो एएफसी (एसियाली फुटबल महासंघ) टोली बनेको थियो।

स्विडेनले प्रतियोगिताको सुरुआत निकै प्रभावशाली ढंगले गरेको थियो । पहिलो खेलमा उसले ट्युनिसियालाई ५-१ ले हराएको थियो।

तर, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ५-१ को फराकिलो हार व्यहोर्नुपरेको थियो । यो हार स्विडेनको विश्वकप इतिहासमा सन् १९५० मा ब्राजिलसँग ७-१ ले पराजित भएयताको सबैभन्दा ठूलो हार हो।

जापान र स्विडेन दुवै टोलीका लागि यो खेल ‘गर या मर’ जस्तै बन्ने पक्का छ । खेल जित्ने टोली नकआउट चरणमा पुग्न सक्नेछ । साथै, यदि नेदरल्यान्ड्सले आफ्नो खेल जित्न नसकेमा (हार वा बराबरी खेलेमा), जापान वा स्विडेनमध्ये विजेता टोली समूह एफको शीर्ष स्थानमा समेत पुग्न सक्छ।

दुई खेलबाट ४ अंक जोडेको जापान अहिले समूहको दोस्रो स्थानमा रहदा ३ अंक रहेको स्विडेन तेस्रो स्थानमा छ । बिहान ४:४५ बाटै शुरु हुने यसै समूहको अर्को खेलमा ट्युनिसियाले नेदरल्यान्ड्ससँगप्रतिस्पर्धा गर्नेछ ।

अघिल्ला दुई खेलबाट ४ अंक जोडेको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ र ट्युनिसियालाई हराए सहज रुपमा नकआउट चरणमा पुग्ने छ । यता, अघिल्ला दुवै खेलमा पराजित ट्युनिसिया यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :