काठमाडौं । पूर्व अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पालाई विद्यालयको सम्पत्ति र आर्थिक कारोबारसँग जोडिएको गम्भीर आरोपमा नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन शुक्रबार साँझ उनलाई पक्राउ गरिएको जनाएको छ।
सिआइबीका अनुसार, हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका बेला शेर्पाले संस्थाको करिब ८ करोड ७८ लाख ३० हजार रुपैयाँ बराबरको रकम अपचलन गरेको आशंकामा अनुसन्धान भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले विद्यालयको हितविपरीत विभिन्न प्रक्रिया अपनाएर व्यक्तिगत लाभ लिएको तथा संस्थालाई आर्थिक क्षति पुगेको देखिएको जनाएको छ। यही आधारमा उनीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको हो।
अनुसन्धानका क्रममा भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा विद्यालयको हितविपरीत आफ्नै स्वामित्व रहेको कम्पनीमा हस्तान्तरण गरिएको तथ्य पनि खुलेको सिआइबीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कारोबार डर, दबाब र अनुचित प्रभाव प्रयोग गरी सम्पन्न गरिएको आशंका गरिएको छ । यस घटनासम्बन्धी थप प्रमाण संकलन तथा आर्थिक कारोबारको विस्तृत विश्लेषण भइरहेको प्रहरीले जनाएको छ।




