शहिद स्मृति स्पोर्ट्स एकेडेमीले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा ‘शहिद स्मृति राष्ट्रिय यु-२० पुरुष तथा महिला रग्बी च्याम्पियनसिप-२०८३’ आयोजना गर्ने भएको छ।
प्रतियोगिता असार १५ र १६ गते ललितपुरस्थित च्यासल रंगशाला मा सञ्चालन हुनेछ । प्रतियोगितामा ६ पुरुष टोली र ५ महिला टोली गरी कुल ११ टोली सहभागी हुनेछन्।
यस प्रतियोगिताबाट आगामी नोभेम्बरमा भारतमा हुने यु-२० एसियन प्रतियोगिताका लागि नेपालको टोली छनोट गरिने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिएका छन्।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले गर्ने कार्यक्रम छ। समापन समारोहमा एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य-सचिव टंकलाल घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।




